इनरुवा। रसुवाको भोटेकोशी बाढी पीडितका लागि सुनसरीका चारै क्षेत्रबाट राहत रकम संकलन गरी आगामी भदौ १६ गते मंगलबार सम्ममा जिल्ला रहत कोषमा जम्मा गर्ने निर्णय नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको आकस्मिक बैठकले गरेको छ।

सभापति केदार भण्डारीको अध्यक्षतामा जीपी स्मृति भवन, इनरुवामा सम्पन्न उक्त बैठकमा केन्द्रीय सदस्य राजीव कोइराला, गोमा पराजुली र संविधानसभा सदस्य सिताराम मेहतासहित जिल्लाका नेतागणको उपस्थिति रहेको थियो।
बैठकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्यो र उद्धार, राहत तथा पुनर्निर्माणका सरकारी प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनायो। संकलित रकम क्षेत्रिय सभापतिमार्फत जम्मा गर्ने जिम्मेवारी सुम्पिने निर्णय समेत गरिएको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्रकुमार शाहले जानकारी दिनुभएको हो।








