सुनसरीको बर्जु गाउँपालिका–०३ फारम चोक स्थित भित्री सडक खण्डमा शंकास्पद अवस्थामा गस्ती तथा चेकजाँच गर्दा प्रहरीले स्रोत नखुलेको नगद रू. ५ लाख ३० हजार बरामद गरेको छ।
विराटनगरबाट फारम चोकतर्फ आउँदै गरेको मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २८ वर्षीय कृष्ण चौधरीले चलाएको को. २० प. ११४९ नम्बरको मोटरसाइकल खानतलासी गर्दा ट्याङ्कीमुनि लुकाइएको अवस्थामा उक्त रकम फेला परेको थियो।
हुन्डी कसुरमा संलग्न रहेको आशंकामा प्रहरीले चौधरीलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई ५ दिन म्याद थपी इलाका प्रहरी कार्यालय, दुहबी सुनसरीमा ल्याई थप अनुसन्धान अगाडि बढाएको छ।








