सुनसरी र सिरहाका घटनाको छानबिन गर्न बनेका दुई छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाएका छन् । दुवै प्रतिवेदनमा आन्दोलनमा बाहिरी घुसपैठ नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको मृत्यु भएको उल्लेख छ ।

१० साउनमा सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा भएको विवादपछि झडप भई ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता गरी तीन जनाको मृत्यु भएको थियो । समितिका अनुसार त्यहाँ प्रहरी र सशस्त्र प्रहरीबाट जम्मा २० राउन्ड गोली चलेको थियो ।
सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । समितिको प्रतिवेदनमा त्यहाँ ९ राउन्ड गोली चलेको (७ डमी, २ पेस्तोल) र पेस्तोलको एउटा गोलीले यादवको मृत्यु भएको उल्लेख छ । सिरहामा प्रहरी जवानलाई गोली लागेको दाबी खण्डन गर्दै समितिले छर्रा लागेको हुनसक्ने बताएको छ ।
कप्तानगञ्जको छानबिन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा र सिरहाको छानबिन सहसचिव पुष्पराज शाहीको नेतृत्वमा भएको थियो । दुवै समितिले गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही सिफारिस गरेका छन्, तर कस्तो कारबाही भन्ने प्रष्ट उल्लेख गरिएको छैन ।








