असहिष्णुतालाई लिएर भइरहेको बहसमा भारतीय जनता पार्टी (बीजेपी)का महासचिव कैलाश विजयर्गीयले फिल्म स्टार शाहरुख खानलाई निशाना बनाएका छन् । उनले शाहरुखलाई देशद्रोही बताएका छन् ।
कैलाश विजयर्गीयले ट्वीटरमा शाहरुख भारतमा बसेपनि मत पाकिस्तानमा रहने बताए । उनले लेखेका छन्-‘उनको फिल्मले यहाँ करोडौं कमाउँछ । तर, उनी भारतप्रति असहिष्णु देखिएका छन् । यो देशद्रोह नभए के हो त ?’
मुम्बई बम आक्रमणको उल्लेख गर्दै उनले ट्वीट गरेका छन्-जब १९९३ मम सयौं मानिस मरे, त्यसबेला शाहरुख कहाँ थिए ? जब मुम्बईमा २६/११ को आक्रमण भयो । त्यसबेला शाहरुख कहाँ थिए ?’
विवादित हिन्दु नेता साध्वी प्राचीले भने अभिनेता शाहरुखलाई पाकिस्तानी एजेन्ट भनेका छन् ।
बीजेपी महासचिवको बयानपछि बलिउड शाहरुखको पक्षमा देखिएको छ । अनुपम खेरले शाहरुख खान देशको आदर्श भएको र उनीप्रति गर्व रहेको भन्दै बकवास बयान नदिन बीजेपी नेताहरुलाई आग्रह गरेका छन् ।
कांग्रेस नेता दिग्विजय सिंहले भने बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा टिप्पणी गरेका छन् । उनले मोदीले शाहरुखसँग माफी माग्नु पर्ने बताएका छन् । साथै आफू शाहरुखको साथमा रहेको समेत बताएका छन् ।अनलाइनखबरबाट








