इनरुवा। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलबाट प्रहरीले वेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा र एक मोटरसाइकल बरामद गरेको छ।

प्रहरीका अनुसार हिजो जेठ २६ गते साँझ ७ बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली नियमित गस्तीका क्रममा उक्त जंगल क्षेत्रमा पुगेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा को २४ प ६७४ नम्बरको मोटरसाइकल तथा १५ वटा प्लास्टिकका बोरामा राखिएको करिब ४३० किलोग्राम गाँजा फेला परेको हो।
बरामद गरिएको लागूऔषध तथा मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्यसमेत तीव्र रूपमा अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।








