अहिलेका चर्चित संगीतकार खेम सेन्चुरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । संगीतकारको रुपमा शनिबार उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ साइन गरे ।निर्माता कम्पनी सुहाना इन्टरटेनमेन्टका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापासँग उनले लिखित सहमति गरेका छन् ।
सामाजिक संजालमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरुको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु । मेरो सांगीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ ।’
उनी अघि लेख्छन्- सुपरिचित र सशक्त ब्यानर ‘सुहाना इन्टरटेन्टमेन्ट’को निर्माणमा बन्ने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ५’का लागि सांगीतिक सहकार्य गर्दैछु । आशा छ माया गरिदिनुहुनेछ । यो अवसर प्रदान गर्नुहुने आदरणीय व्यक्तित्वहरू निर्देशक एवम् मलाई मनपर्ने नायिका झरना थापाज्यू र निर्माता सुनिलकुमार थापाज्यू प्रति हार्दिक नमन व्यक्त गर्दछु ।’








