- जयकृष्ण यादव

इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयोजना गरेको कार्यक्रममा २०८१ पुस १७ गतेदेखि २०८२ मंसिर २९ गतेसम्म सुनसरी जिल्लामा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखीकरण विवरण प्रस्तुत गर्दै समीक्षा गरिएको हो।

इन्सेकको अभिलेख अनुसार सुनसरीमा महिला बलात्कारका १०, बालिका बलात्कारका २१, बलात्कार प्रयासका १५, हाडनाता करणी तथा बाल यौन दुरुपयोगका ७ घटना भएका छन्। जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २ जनाको मृत्यु, ७ जना घाइते, १५ जना पक्राउ परेका छन् भने १२ जना प्रहरी घाइते भएका छन्।

यस अवधिमा पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहारका ४, कर्मचारीमाथि कुटपिटका २, अन्य पक्षबाट गोली हानी हत्या १ (रामधुनी), विद्यार्थीलाई यातना २ (देवानगञ्ज), सम्मानित रूपले बाँच्न पाउने अधिकार अन्तर्गत परिवार वा अन्यबाट हत्या १०, बालिका अपहरण १ (कोशी), अपहरण तथा शरीर बन्धकका २ (किशोरी, देवानगञ्ज) र साइबर अपराधका २ घटना अभिलेख गरिएको छ। विभिन्न घटनामा ११८ जना पीडित भएका छन्।

नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका १०, सम्मानित रूपले बाँच्न पाउने अधिकार उल्लङ्घनका १०, कारागारमा मृत्युका ५ घटना भएका छन्। साथै इटहरी उपमहानगरपालिका कार्यालय, इनरुवा नगरपालिका कार्यालय, ६ वटा वडा कार्यालय र भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी, सरकारी सवारी साधन—इलाका प्रहरी कार्यालय इटहरी र पकलीका प्रहरीका गाडी, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका सवारीमा आगजनी गरिएको विवरण प्रस्तुत गरियो। समाचार लेखेकै कारण पत्रकार देवराज यादवलाई धम्की दिएको तथा बालबालिकामाथि कुटपिट र विद्यालयमा गृहकार्य नगरेको भन्दै यातनाका २ घटना पनि अभिलेख गरिएको छ।

कार्यक्रम जिल्ला सल्लाहकार सत्यनारायण मेहताको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिमा इनरुवा नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुली लगायतको उपस्थिति थियो।

प्रस्तुत विवरणमाथि अधिवक्ता सुकदेव चौधरीले नागरिकका सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारका सवाललाई अझ प्रभावकारी रूपमा उठाउनुपर्ने सुझाव दिनुभयो। पत्रकार अजितकुमार झा, अनिल श्रेष्ठ र सुरज यादवले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा जनप्रतिनिधिबाट हुने हननप्रति गुनासो व्यक्त गर्दै शैक्षिक संस्थामा हुने बाल हिंसा र यातना प्रति गम्भीर ध्यानाकर्षण गराए। दोषीलाई कारबाहीको दायरामा ल्याउन र सचेतनात्मक अभियान चलाउन जोड दिइयो।

देवकी नेपालले लागुऔषध नियन्त्रण र सुरक्षा प्रदान गर्ने निकायको उदासीनताका कारण मानवअधिकारको अनुभूति हुन नसकेको बताउनुभयो। मानवअधिकार एलायन्सकी सरिता कार्कीले जेन्जी आन्दोलनपछि फरार तथा कारागार बाहिर रहेका व्यक्तिहरू मानवअधिकारका हिसाबले चुनौती बनेको उल्लेख गर्दै सबैले आ–आफ्नो स्थानबाट आवाज उठाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा सविता सुवेदी, रन्जु पौडेल, अनुपा मोची, मिरा सरदारलगायतले समुदायमा असुरक्षाको अवस्था रहेको भन्दै कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। कोपिला रिजाल, पुनम दाहाल, सरिता घिमिरे, इन्दिरा पराजुली, सम्झना वस्नेत, एल्जिना खतिवडा, कमला कार्की, झरना वस्नेत, पुष्पा देवी खवास, मिना काफ्ले खड्का, ओली महमद मियाँ, एलुन मियाँ, सुनिता दुलाल, रचना प्याकुरेल, माया परियार, शैलेन्द्र सिंह, राजवती देवी मण्डललगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia