- बिरेन्द्र शाह

इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्र ३० गतेदेखि सञ्चालित यो तालिम कार्यक्रम वैशाख १५ गतेसम्म सञ्चालनमा रह्यो।

इनरुवा-१ स्थित नेशनल स्किल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित यस तालिममा कुल २५ जना सहभागी रहेका थिए। संस्था प्रतिनिधि विचारी कटुवालका अनुसार, उक्त संस्था सिटिइभिटि–सम्बन्धन प्राप्त तालिम प्रदायक संस्था हो र विगत लामो समयदेखि सीपमूलक तथा रोजगारमूलक क्षेत्रमा कार्यरत छ। बराहक्षेत्र नगरपालिकामा लेखा विषयको तालिम सम्भवतः यही पहिलो पटक आयोजना भएको उनले जानकारी दिए।

समापन समारोहका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की र विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी रहनुभएको थियो। यसका साथै कार्यक्रम अधिकृत अरुण कुमार मेहता, प्रशिक्षक सरोज गिरी, संस्था प्रतिनिधि वीरेन्द्र शाह र विचारी कटुवालको उपस्थिति रहेको थियो।

प्रशिक्षक सरोज गिरीले यो तालिम पश्चात सहभागीहरू स्थानीय स्तरमा रोजगारीका अवसर खोज्न सक्षम हुने बताए। उनका अनुसार सहभागीहरू स्थानीय व्यापार–व्यवसायमा लेखा सहयोगीको रूपमा काम गर्न र कर, बिल–बिजक तथा सम्बन्धित कार्यमा योग्य बन्न सक्नेछन्।

प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीले समारोहमा सम्पूर्ण सहभागीलाई उज्ज्वल भविष्यको कामना गर्नुभयो। नगरप्रमुख रमेश कार्कीले प्रफुल्ल मनले सम्पूर्ण सहभागीहरूलाई सिकेको सीप र ज्ञान जीवनमा उतार्न आग्रह गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न हौसला दिनुभयो। यो तालिम स्वरोजगारमूलक भएकाले आवश्यक परेमा नगरपालिका तथा व्यक्तिगत स्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उल्लेख्य छ कि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले लेखा तालिमलाई प्राविधिक तथा सीपमूलक तालिमको रूपमा मान्यता दिएको छ। पछिल्लो समय छोटो अवधिका तालिममा लेखा तालिमको माग उल्लेख्य रूपमा बढेको छ। सिटिइभिटिले कुनै पनि सीपमूलक तालिम कार्यक्रम सम्बन्धन प्राप्त संस्थाबाटमात्र सञ्चालन गर्ने र गराउने निर्देशन दिइसकेको छ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण सामाजिक विकास शाखा प्रमुख एवं कार्यक्रम अधिकृत अरुण कुमार मेहताले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia