- बिरेन्द्र शाह

इनरुवा। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार जिल्लाभर कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता दर्ता रहेका थिए। तीमध्ये महिला मतदाता २ लाख ८६ हजार ६ सय ९१, पुरुष २ लाख ९४ हजार २ सय ५२ र अन्य २ जना रहेका थिए। निर्वाचनमा कुल २ लाख ६९ हजार २ सय ७८ मत खसेको छ, जसले जिल्लाको समग्र मतदान प्रतिशत ६३.५७ प्रतिशत रहेको देखाउँछ। यस पटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको प्रभाव स्पष्ट देखिएको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले ३ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।

सुनसरी क्षेत्र नम्बर १ मा अँजुलीमा रहेको माटो चिन्हबाट श्रम संस्कृति पार्टीका हर्कराज राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी घण्टी चिन्हबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। यसै क्षेत्रमा एमालेका टिकराम लिम्बुले ६ हजार ४६३, नेकपाका सूर्य बहादुर भट्टराईले ६ हजार १८५ तथा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरेका छन्।

सुनसरी क्षेत्र नम्बर २ मा घण्टी चिन्हबाट राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापा ५७ हजार ३४८ मतसहित विजयी बने। नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। एमालेका सुजन लामाले ८ हजार ३०३ मत पाउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ तथा नेकपाकी राम कुमारी चौधरीले १ हजार ८१६ मत प्राप्त गरे।

सुनसरी क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी ४७ हजार ४२१ मतसहित विजयी भए। नेपाली कांग्रेसका वरिष्ठ नेता विजय कुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए भने एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरिन्। श्रम संस्कृति पार्टीका राम प्रसाद सदाले १ हजार ७८० तथा नेकपाका दुर्गेश चौधरीले १ हजार ५५१ मत प्राप्त गरेका छन्।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह ४२ हजार ७७१ मतसहित विजयी बने। नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। एमालेका जगदीश प्रसाद कुसियैतले ८ हजार ६३१ मत पाउँदा नेकपाका मोहमद महफुज अंसारीले ३ हजार ४३२ तथा श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फ सुनसरी जिल्लाको कुल मत परिणाम पनि सार्वजनिक भएको छ। यसमा घण्टी चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ५२ हजार ३८३ मत पाएको छ भने अँजुलीमा रहेको माटो चिन्हको श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत प्राप्त गरेको छ। त्यसैगरी सूर्य चिन्हको एमालेले ३५ हजार ८९२, तारा चिन्हको नेकपाले १० हजार ७९ तथा हलो चिन्हको राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ५११ मत प्राप्त गरेका छन्।

समग्रमा हेर्दा सुनसरी जिल्लामा यस पटकको प्रतिनिधि सभा निर्वाचनमा नयाँ राजनीतिक शक्तिको उदय स्पष्ट देखिएको छ। प्रत्यक्षतर्फ तिन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुनु, एक क्षेत्रमा श्रम संस्कृति पार्टी र समानुपातिकतर्फ पनि सोही दलहरुले उल्लेख्य मत प्राप्त गर्नुले जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषकहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia