इनरुवा – इनरुवा नगरपालिका र विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.बीच नगरवासीलाई स्वास्थ्य उपचारमा थप सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ। विराटनगर महानगरपालिका–४, कञ्चनबारीस्थित अस्पताल र नगरपालिकाबीच गत साउन २१ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता भने साउन २० गतेदेखि नै लागू भएको छ।

सम्झौताअनुसार इनरुवा नगरपालिकाभित्र बसोबास गर्ने बिरामीले नेपाल सरकारको स्वास्थ्य बिमा, आमा सुरक्षा तथा विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा पूर्ण रूपमा उपयोग गरिसकेपछि थप उपचार तथा अपरेसन सेवामा **२० प्रतिशतसम्म छुट** पाउनेछन्। यो सुविधा स्वास्थ्य बिमा नभएका तथा बिमा भए पनि बिमा सक्रिय हुनुअघिको अवधिका बिरामीलाई समेत उपलब्ध हुनेछ।
त्यस्तै, इनरुवा नगरपालिका वा स्वास्थ्य चौकीको सिफारिसमा थप उपचारका लागि आउने कोशी प्रदेशका बिरामीले पनि उक्त सुविधा पाउनेछन्। यसका लागि बिरामीले जाँचसम्बन्धी कागजात र रेफरल प्रमाण पेस गर्नुपर्नेछ।
सुविधा लिन नगरपालिकाको अध्यक्ष वा तोकिएको पदाधिकारीको सिफारिस, ठेगाना खुल्ने परिचयपत्र र नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। १६ वर्षमुनिका बालबालिकाका लागि जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुनेछ।
तर IVF, प्लास्टिक तथा कस्मेटिक सर्जरी, केबिन उपचार, औषधि तथा इम्प्लान्ट, सर्जिकल सामग्री र उपभोग्य सामग्रीमा छुट लागू हुने छैन।
सम्झौता साउन २०, २०८३ देखि आषाढ मसान्त २०८४ सम्म कायम रहनेछ। दुवै पक्षको सहमतिमा सम्झौता थप निरन्तरता दिन सकिनेछ।
सम्झौतापत्रमा नोबेल मेडिकल कलेजका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नविन दाहाल तथा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता र प्रमुख प्रशासकीय अधिकृत भाष्कर दाहालले हस्ताक्षर गरेका छन्।








