- बिरेन्द्र शाह

इनरुवा — संयुक्त हिन्दू मोर्चा, सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै शान्ति-सुरक्षा, निष्पक्ष छानबिन तथा पक्राउ परेका आन्दोलनकारीहरूको बिना सर्त रिहाइको सम्बन्धमा आज भाद्र १ गते एक ज्ञापनपत्र बुझाएको छ।

संगठनका संयोजक कप्लेश्वर यादव (कपिल) द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा देवानगञ्ज गाउँपालिका-कपानगञ्जमा मिति २०८३/०४/१० गते राति भएको गोलीकाण्ड तथा त्यसपछि सुनसरीका विभिन्न स्थानमा भएका विरोध प्रदर्शनमा सहभागी युवाहरूको पक्राउप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्रमा संगठनले हरिनगर गाउँपालिका–घुस्कीमा घर तथा मन्दिरमा भएको आगजनी र मूर्तिभंग, भोक्राहा नरसिंहको चिरौली चोकमा पसलमा भएको आगजनी, कोशी कटानक्षेत्रका पसलहरूमा भएको आक्रमण, र सामाजिक सञ्जालमार्फत दिइएका धम्की तथा अपहरण-फिरौतीसम्बन्धी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

संगठनले यी घटनाहरूमा बाहिरी वा कट्टरपन्थी समूहको संलग्नता रहेको सन्दर्भमा समेत अनुसन्धान गर्नुपर्ने र मदरसा तथा मस्जिदसँग सम्बन्धित विदेशी नागरिकहरूको पहिचान खुल्नुपर्ने माग राखेको छ। यी दाबीहरू संगठनको ज्ञापनपत्रमा उल्लेख भएको छ।

यसैगरी संगठनले देवानगञ्ज-कपानगञ्जको गोलीकाण्ड र त्यसपछिका घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन, धार्मिक स्थल, घर, पसल तथा सार्वजनिक-निजी सम्पत्तिमा भएको भनिएको क्षतिको अनुसन्धान, सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने कार्यमा संलग्नको पहिचान र कारबाही, आरोप र प्रमाण बिना धरपकड नगर्ने व्यवस्था, हालसम्म पक्राउ परेका आन्दोलनकारी युवाहरूको तत्काल रिहाइ, हिन्दू धार्मिक तथा सांस्कृतिक पर्वहरूको संरक्षण र शान्तिपूर्ण मनाउने वातावरणको सुनिश्चितता, साम्प्रदायिक सद्भाव कायम राख्दै सामूहिक दोषारोपणको वातावरण सिर्जना नहुन दिने, र भोकाहा नरसिंहको घटनामा जनप्रतिनिधिको संलग्नता रहेको आरोपको छानबिन गर्नुपर्ने माग समेत राखेको छ।

ज्ञापनपत्रको अन्त्यमा संगठनले आफ्ना माग सम्बोधन नभई निर्दोष आन्दोलनकारी युवाहरूलाई अनावश्यक रूपमा थुनामा राखिने र घटनाको निष्पक्ष छानबिन नगरिने कार्य निरन्तर भएमा शान्तिपूर्ण, संवैधानिक र कानुनी अधिकारको सीमाभित्र रहेर चरणबद्ध आन्दोलन गर्न बाध्य हुने जनाएको छ, र त्यस्तो अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालयबाट समयमै संवाद, छानबिन र आवश्यक कानुनी पहलको अपेक्षा राखेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia