इटहरी । सुनसरीमा गोली प्रहार गरि हत्या गरिएका खुर्शिद आलमको बिषयमा गृह मन्त्री रामबहादुर थापालाई मुस्लिम अगुवाहरुले जानकारी गराएका छन् । काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा अगुवाहरुले थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका हुन् ।
पुर्व सांसद तथा मन्त्री जाकिर हुसैनको नेतृत्वमा गृहमन्त्रालय पुगेका प्रतिनिधि मण्डलले घटनास्थलमा गृहमन्त्री स्वयं नै उपस्थित हुनुपर्ने माग समेत गरेका छन् । उक्त प्रतिनिधि मंण्डलले गृहमन्त्री स्वंय भुटाहा गएर मृतकका परिवार र आम जनतालाई आश्वस्त नपारेसम्म लाशलाई पोष्टमार्टममा जान नदिने र लाशसमेत नबुझ्ने अडान लिएका छन् । ‘भुटहामा आक्रोशपूर्ण माहौल बनेको छ, भारतिय प्लेट र अर्को बिना नं प्लेटका दुई मोटरसाइकलमा सवार हत्याराहरूले भुटाहा जस्तो व्यस्त बजारमा फायर गरी मान्छे मारेर सजिलै भाग्न सफल हुनु सामान्य घटना नभएको हुसैनले भने ।
उक्त प्रतिनिधि मंडलले गृहमन्त्री समक्ष भने ‘तपाई स्वंय त्यहाँ उपस्थित भएर आश्वस्त पार्नुपरो, अन्यथा हामि शव उठ्न दिन्नौं’ । उनीहरुले स्थानीय प्रशासनको भूमिकामाथि समेत आम जनताले अविश्वास व्यक्त गर्दै सडकमा आक्रोश पोखिरहेका बताएका थिए । जवाफमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको र आवश्यक कारवाही हुने आश्वासन दिएका छन् । मृतक आलम पूर्व नेकपा एमालेका जिल्ला सल्लाहकार थिए ।








