
जेठ ४ इनरुवा /भारतीय बजारमा बर्ड फ्लुको संक्रमण देखा परेको भन्दै सुनसरी प्रशासनले भारतसँग नाका जोडिएका क्षेत्रमा सर्तकता अपनाउने भएको छ ।जिल्ला पशु सेवा कार्यालय सुनसरीले आवश्यक तयारीका लागि समन्वय र सहकार्यको खाँचो औल्याएपछि सुनसरी प्रशासनले भारतीय सीमावर्ति क्षेत्रबाट हुँदै आएको पशुपंक्षि जन्य कारोवार र ओसारपसार उपर निगरानी र सर्तकता अपनाउने निर्णय गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुखका साथै स्वास्थ्य र पशु कार्यालयका प्रमुखहरुको भेलाले अवैध कारोवार र भारतीय बजारबाट हुँदै आएको पंक्षीजन्य ओसार पसारको कडा निगरानी थाल्ने सहमति जनाएको हो ।

जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले सुनसरी खुला सिमाका कारण वर्ड फ्लुको उच्च जोखिममा रहेकाले बेलैबाट सर्तकर्ताको पहल थाल्न लागिएको जानकारी दिनुभयो ।खुला सिमाको प्रयोग गरी हुँदै आएको कुखुरा लगायतका पशुपंक्षि जन्यको चोरी पैठारी नियन्त्रण र त्यस्ता कार्यमा संलग्न उपर ठोस कार्वाही चाल्नु पर्ने बारेमा समेत कार्यक्रमका सहभागिहरुले आवाज उठाएका थिए ।








