
असार ८ इनरुवा /सप्तकोशी नदीमा पानीको वहाव उतारचढाव हुने क्रम जारी छ ।सप्तकोशीमा आज दिउँसो पानीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।कोशी व्यारेजमा गरिएको मापन अनुसार सप्तकोशीमा दिउँसो १ लाख ८१ हजार ४ सय ६० क्युसेक प्रतिसेकेण्ड पानी रहेको थियो ।
गयराती १ लाख ४० हजारको हाराहारीमा वहाव मापन गरिएकोमा आज विहानैबाट सप्तकोशी नदीमा पानीको वहावमा क्रमश वृद्धि देखिएको थियो । दिउँसो नदीको वहावमा वृद्धि भएसँगै कोशी ब्यारेजका २७ वटा ढोका खोलिएकोमा साँझ नदीमा पानी घटेको छ । पछिल्लो मापन अनुसार कोशीमा १ लाख ६२ हजार ५ सय १५ क्यसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।
पानी बढेसँगै नदी आसपासका वासिन्दा त्रासमा परेका छन् । अघिल्लो वर्षको अनुपातमा यस पटक असारको पहिलो सातादेखिनै कोशीको स्तर बढ्न थालेकाले संयमित रहन आवश्यक देखिएको स्थानीय जानकार रविन घिमिरे बताउँछन् ।पूर्वि पहाडी क्षेत्रहरुमा भारी वर्षा हुँदा कोशीको जलस्तरमा वृद्धि बढ्ने गर्दछ ।पहाडी भेगमा पूर्ण रुपमा वर्षा नरोकिएकाले अबेर सम्ममा कोशी नदीमा पानीको सतह पून बढ्न सक्ने अनुमान गरिएको छ ।सप्तकोशी नदीमा जलस्तर बढेसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायको टोलीले नदी क्षेत्रको स्थलगत नीरिक्षण गरेको छ ।

सम्भावित खतरा मानिएका स्परहरु २६– ४०, २६–८८ र २६–०० को अनुगमन पश्चात भारतीय प्राविधिकहरुसँगको राय सुझाव लिएको नेपाली पक्षले खतरा नरहेपनि पूर्व तयारीका लागि सवै संयन्त्र तयारी अवस्थामा राखिने जनाएको छ ।प्रजिअ मोहन चापागाईले नदीमा पानीको बहाव बढेतापनि कुनै किसिमको खतरा भने नरहेको बताए ।
प्रजिअ चापागाईले स्थलगत अनुगमन पश्चात पूर्व तयारीका लागि संवै संयन्त्र तयारीमा रहन निर्देषन दिएका छन् । यद्यपी प्रजिअ चापागाईले कोशी नदी कटानको कुनै खतरा नरहेको स्पष्ट पारेका छन् ।चरतामा बाढी मापन प्रणालीको जडान पश्चात त्यसैको डाटाका आधारमा सुरक्षा निकायले बाढीको अवस्था आकंलन गरी पूर्व तयारी लगायतका कार्य गर्दै आएको छ ।यता सुनसरी खोलामा आएको बाढीले जिल्लाको आधा दर्जन बढी दक्षिणी गाविस जलमग्न बनाएको छ ।खोलाले बबिया, नरसिंह, बसन्तपुर, भुटाहा, बसन्तपुर गाविसका केही वडाहरु डुबानमा पारेको छ ।








