१२ असार, गणेश लम्साल, विराटनगर । सँगै जिउने र सँगै बाँच्ने कसम खाएका प्रेमी–प्रेमिकाले एकैदिन आत्महत्या गरेका छन् । मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार एकैदिन आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको शनिबारै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् । खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् । रक्षाका आफन्तले पोस्टमार्टमपछि जिम्मा लिएर केही पहिले नै शव जलाएका थिए भने खेमप्रसादलाई आफन्तले रक्षालाई जलाएकै स्थानमा जलाएका थिए । -नयाँ पत्रिकाबाट









