इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीको प्रमुख आतिथ्यमा इटहरी-५ स्थित दशनामी समाजको कल्याणकारी भवनमा आयोजित उक्त अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष, कोशी प्रदेश अध्यक्ष, छिमेकी जिल्लाका अध्यक्ष तथा पदाधिकारीहरू, पत्रकार र आजीवन सदस्यहरू सहभागी भएका थिए।

अधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधताले भरिएको देश हो र नेपालको कुल जनसंख्याको ०.६८ प्रतिशत अर्थात् १,८८,८८८ जना दशनामी समुदाय नेपालको आदिवासी समुदायका रूपमा रहेका छन्। नेपाल दशनामी समाजको केन्द्रीय समितिको स्थापना वि.सं. २०५४ मा भएकोमा त्यसपश्चात् सुनसरी जिल्लामा २०५८ सालमा संगठनको स्थापना भई प्रथम अधिवेशनबाट रेमनाथ पुरीको नेतृत्वमा विधिवत् समिति गठन भएको थियो। क्रमशः दिनेशचन्द्र गिरी, सिद्धिसाधन गिरीलगायतकाले संगठनको नेतृत्व गर्दै आएका छन्।
अधिवेशनमा सम्पन्न निर्वाचनबाट डिल्लिराम गिरी अध्यक्ष, लक्ष्मी भारती र धनकुमारी बदी उपाध्यक्ष, भुपराज पुरी सचिव, माधव गिरी कोषाध्यक्ष र ठाकुर पुरी सहसचिवमा निर्वाचित भएका छन्। त्यसैगरी मान व. गिरी, निरन्जन गिरी, सुर्य गिरी, रिता गिरी, मुनाल पुरी, रवि कुमार गिरी, तोया गिरी, रेखा वन गिरी र कुमार गिरी सदस्यमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिले सुनसरी जिल्लामा दशनामी संस्कृतिको संरक्षण, सामाजिक एकता र समुदायको सर्वांगीण विकासका लागि संगठनका लक्ष्य र उद्देश्यहरू पूरा गर्न दृढ प्रतिबद्धता जनाएको छ।








