१५ असार, काठमाडौं। हिरासतमा रहेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकको बयान सकिएको छ । उनीहरुलाई प्रहरीले यही हप्ता मुद्दा दायरको तयारी गरेको छ ।पक्राउ परेका सबैले बयानको क्रममा आफूहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको अस्वीकार गरेका छन् । आफूहरुले प्रमाणपत्र सक्कली नै भएको उनीहरुको दाबी छ ।
तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गरेको अनुसन्धानमा उनीहरुको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । बिहार बोर्डले उनीहरुको आईएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर प्रहरीलाई लिखित जानकारी नै दिएको छ । कतिपयले भर्ना नै नभई बिहारका विभिन्न कलेजहरबाट सर्टिफिकेट बनाएको, केहीले नम्बर थपेको तथा केहीले अरुको रजिष्ट्रेशन नम्बर प्रयोग गरी सर्टिफिकेट निकालेको सिआईबीका एसपी तारिणी लम्सालले बताए । एमबीबीएस पढ्दा आईएस्सीमा उच्च स्कोर चाहिने भएकाले उनीहरुले यसरी नक्कली सर्टिफिकेट बनाएका हुन् ।
लाखौंको बिगो
पक्राउ परेकाहरुमाथिको अनुसन्धान पूरा भएको सिआईबीले जनाएको छ । पक्राउ परेका ३६ जनै चिकित्सकलाई उनीहरुले चिकित्सा पेशाबाट गरेको आम्दानीलाई ठगीको बिगो बनाउने भएको छ । सरकारी अस्पालमा काम गरेकालाई सरकारी तलबअनुसार र अन्यलाई सम्बन्धित अस्तापलबाट विवरण संकलन गरिएको त्यहीअनुसार मुद्दा दायर गर्न लागिएको छ । पक्राउ परेकाहरु कार्यरत जिल्लाकै अदालतमा मुद्दा दायर गर्न लागिएको छ ।
यसअघि मेडिकल काउन्सिल ऐनअनुसार सिआईबीले मुद्दा चलाउदा उनीहरु सामान्य धरौटीमै छुटेका थिए । नक्कली प्रमाणपत्रको आधारमा चेकजा“च गरेर सर्वसाधरणलाई ठगी गरेकाले उनीहरुको कमाईलाई बिगो बनाउन लागिएको सिआईबीका एक अधिकारीले बताए । महान्यायधिवक्ता कार्यालयकै सल्लाहमा सिआईबीले ठगी मुद्दामा कारबाही अघि बढाएको हो । उनीहरुको लाइसेन्स पनि रद्दका लागि नेपाल मेडिकल काउन्सिलले प्रक्रिया अघि बढाई सकेको छ ।स्वास्थ्य खबरपत्रिकाबाट








