१९ असार, विराटनगर। जिल्ला अदालत मोरङले नक्कली प्रमाणपत्रधारी नक्कली डाक्टरलाई धरौटीमा छाड्ने आदेश दिएको छ । प्रहरीले दाबी गरेको बिगो बराबरको धरौटी लिएर छाड्ने आदेश भएको हो ।
ट्रमा अस्पताल बिराटनगरका माहेम्मद अबुल कलाम, राम डाइग्नोष्टिक क्लिनकका संजय कुमार दास र विराटनगर आखा अस्पतालकी लिलि राजबंशीलाई धरौटीमा छाड्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्दीप भण्डारीले बताए । राजबंशीलाई ३४ लाख ६३ हजार, संजीव दासलाई २३ लाख ४५ हजार तथा कलाम १२ लाख ७० हजार धरौटीमा लिएर छाड्ने आदेश भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेका ३६ जनामध्ये ३ जनालाई शुक्रबार विराटनगरमा मुद्दा दायर भएको थियो । दुई दिनको बहसपछि न्यायधीशले धरौटीमा छाड्ने आदेश दिएका हुन् । सजायको फैसला भने पछि हुनेछ । प्रहरीले ५ वर्ष कैद र बिगो बराबर जरिवाना सजायको माग गरी उनीहरुविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । काठमाडौं, लतिलपुरसहित ११ जिल्लामा नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध मुद्दा दायर भएको छ । स्वास्थ्य खबरपत्रिकाबाट








