२० असार, रविन्द्र साह। सरकारले स्वास्थ्यलाई संवेदनशिल मानिएपनि सप्तरीका ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुको अवस्था दिन प्रतिदिन खस्किदै गईरहेको छ ।
यसैक्रममा जिल्लाको औरही गाविस स्थितरहेको स्वास्थ्य चौकीमा एक जना अनमिकै भरमा संचालन भईरहेको पाईएको छ । सो स्वास्थ्य चौकीमा एक जना पियन सहित पाँच जना कर्मचारीहरुको दरबन्दी रहेपनि आईतबार एक जना अनमिकै भरमा स्वास्थ्य चौकी संचालन भईरहेको पाईयो ।
स्वास्थय चौकीमा एक जना सि.अहेब जयकृष्ण यादव ,अहेब लोचन यादव ,एचए ललित नारायण राय ,अनमि रुन्ती साह र एक जना पियन जोगेन्द्र शर्माको दरबन्दी रहेको छ , तर एक जनाकै भरमा सो स्वास्थ्य चौकी संचालनमा रहेको कारणले सेवाग्राहीहरुलाई निकै समस्या खेप्नुपरीरहेको छ ।
जसमध्ये सि.अहेब जयकृष्ण यादवको यही असार १ गतेबाट अवकाश प्राप्त गरेपछि अहिलेसम्म उहाँको स्थानमा अर्को सि.अहेव आएपनि उहाँ अझै स्वास्थ्य चौकीमा हाजिर हुन नसकेका कारणले अहिले सो स्वास्थ्य चौकीमा औषधिको समेत कृत्रिम अभाव रहेको स्वास्थ्य चौकीका अनमि रुन्ती साहले बताईन ।
दिनहुँ बिहान ११ बजेपछि संचालनमा आउँने सो स्वास्थ्य चौकीमा सधै एक देखि दुई जना कर्मचारीकै भरमा संचालन भईरहेको स्थानीय सेवाग्राहिहरुको कथन रहेको छ । औषधि अभावमा सो स्वास्थ्य चौकीमा दिनहुँ २० देखि २५ जना सम्म सेवाग्राहिहरु आएपनि बिना औषधि उपचार नै नगरि घर फर्किने गरेको आरोप सेवाग्राहिहरुको रहेको छ ।
यता सो सम्बन्धमा स्वास्थ्य चौकीका अनमि रुन्ती साहसँग सो विषयमा जिज्ञासा राख्दा उहाँले सि.अहेवको अवकाश प्राप्त भएपछि अर्को अहेव अहिलेसम्म हाजिर भएको छैन भने अर्को अहेव र एचए काम विशेषले बाहिर रहेको बताईन ।








