
इनरुवा असार २५/सवारी दुर्घटना न्यूनिकरणकाका साथै ट्राफिक नियमको पालनाकालागि सचेतना कार्यक्रममा स्थानीय युवाहरुले अग्रसरता देखाउन थालेका छन् ।ट्राफिक नियमको पूर्ण रुपमा पालना गरे सम्भावित दुर्घटनाहरु कम हुने भएकाले नियमको पालनाका लागि इनरुवाका युवाहरुले सचेतना अभियान अघि बढाएका हुन् ।

ट्राफिक प्रहरी संगको समन्वयमा युथ अफ इनरुवाले इनरुवा चोकमा ट्राफिक सचेतना कार्यक्रम थालेको हो ।सवारी चलाउदा अपनाउनुपर्ने सावधानीका साथै आवश्यक कागजातको अनिवार्यताका बारे युवाहरुले सवारी चालकहरुलाई अवगत गराएका थिए ।
युथ अफ इनरुवा स्थानीय युवाहरुको संगठित समूह हो । जसले पछिल्लो समय सदरमुकाम इनरुवामा सरसफाई, सचेतनाका साथै सार्वजनिक सरोकारवाका विषयमा बहस र पैरवी गर्दै आएको छ ।









