काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका– संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ ।
कांग्रेसका २ सय ६ र माओवादीका ८२ तथा नेकपा संयुक्तसहित सात दलका सांसदले मात्र बहुमतीय सरकार बन्न नसक्ने अवस्था सृजना भएपछि कांग्रेस र माओवादी गठबन्धनको जोड मधेसवादी दललाई सरकारमा सामेल गराउनेतर्फ केन्द्रित भएको हो ।
माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएसँगै हर्ष व्यक्त गरिरहेका मधेसवादी दलहरुले वर्तमान सरकारविरुद्ध भोट दिने घोषणा गरेपनि नयाँ गठबन्धनमा सामेल हुने÷नहुनेबारे निर्णय गर्न नसक्दा कांग्रेस–माओवादी गठबन्धनको सक्रियता उनीहरुलाई फकाउन बढेको हो ।
कांग्रेसका एक नेताका अनुसार यतिखेरको चासो ओली नेतृत्वको सरकारलाई ढाल्नु मात्र होइन, मधेसवादी दलहरुलाई अब बन्ने सरकारमा सामेल गर्न सकिएन भने आगामी सरकार पनि टिकाउ हुँदैन । ती नेताले भने, ‘त्यसैले मधेसवादी दललाई सकभर सरकार गठनको सुरुवातमै सहभागी गराउने प्रयास भइरहेको छ ।’
प्रधानमन्त्री ओलीको विपक्षमा मत दिन र अब बन्ने सरकारमा सहभागी हुन आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत मधेसवादी अन्य नेताहरुसँग छलफल गरेका थिए ।
देउवा र दाहालसँगै मधेसवादी दलसँगको छलफलमा सहभागी भएका माओवादी नेता जनार्दन शर्माका अनुसार फोरम अध्यक्ष यादवले तत्काललाई ओली नेतृत्वको सरकार ढाल्नका लागि सघाउने बचन दिएका थिए ।आजको नागरिक दैनिकमा खबर छ।








