
इनरुवा असार ३०/ जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सर्वसाधारणले विकासे कार्यालयबाट सम्पादित कार्यशैली पारदर्शि हुन नसकेको गुनासो गरेका छन् ।इनरुवामा जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको आर्थिक वर्ष २०७२।०७३ को सार्वजनिक सुनुवाईमा विकासे कार्यालयहरुलाई लक्षित गरी सर्वसाधारण तथा सरोकारवालाहरुले ढिलासुस्ती र पारदर्शिता अभाव रहेको औल्याए ।
कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतीनिधीका साथै सरोकारवाला र सर्वसाधारणले कार्यक्रमको बाँडफाँडमा असन्तुष्टि जनाउनुका साथै योजना संचालनबारे प्रभावकारी अनुगमन हुन नसकेको प्रति आपत्ति जनाए ।कार्यक्रममा उठेका जिज्ञासाहरुको विषयगत कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए ।स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले जिल्लामा संचालित योजनाहरु राजनैतिक दल र सरोकारवालाहरुको रोहवारमा पारदर्शिताका साथ सम्पन्न भएको दावी गर्नुभयो ।

सो कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले सर्वसाधारणबाट आएका गुनासा उपर छानविन गरिने बताउँदै योजना संचालनका क्रममा हिनामिना भएको पाइए कार्वाही प्रकृया अघि बढाउन आफु तयार रहेको बताउनुभयो ।सार्वजनिक सुनुवाई कार्यक्रममा पशु, कृषि, बन, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, प्राविधिकका साथै खानेपानी कार्यालयका प्रमुखहरुले वर्षभर संचालन र सम्पन्न भएका कार्यक्रमका बारे जानकारी गराएका थिए ।
कार्यक्रममा सर्वसाधारण सेवाग्राहीसँग सरकारी सेवा सुविधा प्रवाह लगायत बारे गरिएको सर्वेक्षणका साथै नागरिक प्रतिवेदन प्रस्तुती समेत गरियो । जसमा कार्यालयबाट प्रदान हुने सेवालाई सर्वसाधारणको पहुँच र बुझाईका आधारमा सन्तोषपद रहेको उल्लेख गरिएको छ ।








