
अमर काफ्ले इनरुवा असार ३१/इनरुवा नगरपालिकाको कार्यालयले नगर विकासमा संचालनमा रहेका तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु प्रभावकारी भएको भन्दै नगरवासीले प्रशंशा गरेका छन् ।इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७२।०७३ मा सम्पन्न गरेका विकासे योजनाबारे जानकारी गराउन आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरवासीले समग्र योजना स्वागतयोग्य रहेको बताएका हुन् ।

नगरपालिकाले गौरभशाली योजनाहरु अन्र्तगत संचालनमा ल्याएको स्वर्गद्धारी घाट, बस पार्क निर्माण, खेलकुद मैदान, सिटी हल र नगर प्रवेश द्धार, पञ्चबाटिका जस्ता योजना नगर विकासका सवालमा कोशेढुङ्गा सावित हुन पुगेको उनिहरुको भनाई थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यकारी अधिकृत रामचरित्र मेहताले वर्षभर संचानल भएका योजनाहरुमा दल र नगरवासीको साथ र सहयोग मिलेकाले नगर विकासले फड्को पार्न सफल भएको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा नगरभित्र रहेका सामूदायिक, नीजि र उच्च माविमा अध्ययरत उत्कृष्ठ २३ जना विद्यार्थीलाई सम्मान गरिनुका साथै नगर स्तरीय शान्ति समितिबाट सिफारिसमा परेका शहीद, वेपत्ता र घाइतेका परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सर्वसाधारणले नगरपालिकाले चालेका समग्र विकासे कार्यक्रमहरु राम्रा रहेपनि अझपनि कतिपय कुरामा सुधारको खाँचो रहेको औल्याएका थिए ।









