इनरुवा साउन २ /सडक अवरुद्ध पार्न खोज्ने ९ जना विप्लब समूहका कार्यकर्ता सुनसरीको इटहरीबाट पक्राउ परेका छन् । विप्लब माओवादी समूहले आज विहान ९ बजेदेखि ११ बजेसम्म आव्हान गरेको चक्काजामका क्रममा सडकमा अवरोध पुर्याउन खोज्ने कार्यकर्ताहरुलाई सुनसरी प्रहरीले इटहरी २० लबिपुरबाट नियन्त्रणमा लिएको हो ।
सुनसरी प्रहरीका अनुसार पक्राउ पर्ने बन्दकर्ताहरुमा ने.क.पा. माओवादी विप्लव समुहका जिल्ला सदस्य धरान १५ वस्ने रंजित राई, सचिवालय सदस्य ईटहरी ११ वस्ने सन्तोष विष्ट, जिल्ला सदस्य धरान १८ वस्ने सुरज राई, शान्ता राई, झपड वहादुर कटवाल, सुर्य राई, योगेन राई, माओवादी विप्लव समुह भातृ सँगठन मजदुर संघको जिल्ला अध्यक्ष दिल बहादुर मगर र देशबहादुर राई रहेका छन् ।
उनिहरु सबैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । देशभरबाट विप्लब समूहका २ सय बढी नेता तथा कार्यकर्ता चक्काजाम गराउने क्रममा पक्राउ परेका छन् ।सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै विप्लब समूहले उपत्यका सहित देशभर दुई घण्टा चक्काजाम आव्हान गरेको थियो ।









