५ साउन, नरेन्द्र बस्नेत बेलबारी । नेपाली काँग्रेस नगर समितिले मनोनित गर्ने पाउने ८ जना सदस्यमा आफुखुसी आफनो प्यानलका ब्यत्तिलाई मात्र नगर सभापतिले मनोनित गरेको भन्दै बेलबारी काँग्रेसमा ब्यापक असन्तुष्टि सिर्जना भएको छ ।
गत महाधिबेशनमा नगरमा बिभिन्न पदमा उठेका ब्यत्तिहरुलाई मनोनित गर्ने बारेमा नगर सभापति शम्भु भट्टराईले पटक पटक मनोनित गर्ने सहमति र भाषण गरेको भएपनि अहिले आएर आफनो प्यानलका ब्यत्तिहरुलाई मात्र मनोनित गरेको भन्दै असन्तुष्टहरुले पार्टीभित्र अब अन्र्तसंघर्ष गर्ने बताएका छन ।
नगर सचिबमा पराजित भएका कुल प्रसाद बराललाई सदस्यमा मनोनित गर्ने यसअघि नै सहमति भएपनि दोस्रो बैठकले मनोनित नगरेर आमन्त्रित सदस्य बनाएपछि बैठकमै खैलाबैला मच्चिएको थियो । बैठकमा उपस्थित ७ जना सदस्यले बराललाई मनोनित गर्ने भनेपनि सभापति सहितका केही ब्यत्तिले आमन्त्रित सदस्य बनाएपछि माईन्युट लेखिरहेका मनोनित सचिब राजेश खत्रीले माईन्युट लेख्नै बन्द गरेका थिए भने नगर समिति सदस्य श्याम कार्कीले नोट अफ डिसेन्ट लेखेका थिए । बैठकमै सो बिषयमा खैलाबैला भएपछि उपस्थितीमा मात्र सही गरेका सदस्यहरुले क्लोजिङमा सही गरेका छैनन ।
देउवा पक्षका भनिएका सभापति भट्टराईले कोइराला पक्षका सबै सदस्यहरुलाई निस्तेज गर्ने खेलमा लागेको र आफना पक्षका सदस्यहरुलाई मात्र मनोनित गरेको असन्तुष्टहरुको आरोप रहेको छ । बराल कोईराला पक्षकै भएका कारण पनि उनलाई मनोनित नगरिएको उनीहरुको आरोप रहेको छ ।
पार्टी भनेको प्रजातान्त्रिक तरिकाले चल्नुपर्ने,सबैको कुरा सुनिनुपर्ने र सबैलाई मिलाएर लैजानुपर्नेमा सभापतिले आफनो पक्षलाई काखा र अरुलाई पाखा गर्ने गरेकोले अब पार्टीभित्र अन्र्तसङघर्ष गर्नुको बिकल्प नभएको नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सदस्य केदार अधिकारीले बताए ।
सभापतिको मनोमानीले कार्यकर्ताहरुमा पार्टी प्रति नै बितृष्णा जगाएकोले उनले सच्चिनु र सबैलाई मिलाएर जानुको बिकल्प नभएको बताए । सभापतिको मनोमानी बढेका कारण त्यस बिरुद्ध कडा रुपमा प्रस्तुत हुने क्षेत्र नम्बर ३ का बरिष्ठ सदस्य राजकुमार लिम्बुले बताए । सभापतिले सबैलाई मिलाएर जाने र दुबै पक्षका सदस्यहरुलाई मिलाएर जाने पटक पटक बताएपनि ब्यबहारमा त्यस्तो नदेखाएको उनले आरोप लगाए । बेलबारीका पुर्ब नगरसभापति समेत रहेका लिम्बुले यस किसिमको हर्कतले पार्टी नचल्ने भन्दै आक्रोश समेत पोखेका छन ।
यस बिषयमा नगर सभापति शम्भु भट्टराई सँग प्रतिक्रिया माग्दा उनले आफुले कसैलाई काखा र पाखा नगरेको,पार्टीमा दुई पक्ष नभएको र सबैलाई मिलाएर जानुपर्ने भएकोले सबैले भनेजस्तो नभएको तर आरोप लगाएजस्तो चाँही आफुले नगरेको प्रतिक्रिया दिएका छन ।








