इनरुवा साउन ६/पूर्वि क्षेत्रमा ५ दिनयता झरी परिरहँदा सप्तकोशी नदीमा पानीको बहाव उतारचढाव हुने क्रम जारी छ । गयराती सम्म ८० हजार क्युसेक प्रतिसेकेण्डको हाराहारीमा रहेको पानीको बहावमा आज विहानबाट भने वृद्धि भएको छ ।
विहान ८ बजे १ लाख ९३ हजार रहेको कोशीको पानी पछिल्लो मापन अनुसार १ लाख ८१ हजार २ सय १५ क्युसेक प्रतिसेकेण्डमा झरेको छ । कोशीमा यतिवेला २४ वटा ढोका खोलिएका छन् । पूर्वि पहाडी भेगमा निरन्तर वर्षा हुँदा सप्तकोशी नदीकोे वहावमा वृद्धि हुने गर्दछ ।
कोशीमा पानीको वहावमा उतारचढाव जारी रहेपनि कटानको समस्या भने नरहेको सुनसरी प्रशासनले जनाएको छ । उता लगातारको वर्षाका कारण सुनसरी खोलामा आएको बाढी स्थानीय मरिया खोलामा मिसिएपछि जिल्लाको दक्षिणी गाविस हरिनगरा र रामनगर भुटाहा जोड्ने पुल जोखिममा परेको छ ।
बाढीका कारण दक्षिणवर्ति अधिकांश गाविसहरु डुबानको चपेटमा परेका छन् । इनरुवा नगरपालिकाका धेरैजसो वडा समेत पानीको उचित निकाश अभावका कारण डुबानमा देखिएको छ ।









