
अमर काफ्ले इनरुवा सुनसरी /अन्र्तराष्ट्रिय आतंकवादी संगठनको हमला हुन सक्ने आशंकामा कोशी ब्यारेजको सुरक्षामा कडाई गर्न थालिएको छ ।नेपाल भारत सीमा सुरक्षा सम्वन्धि बैठकको निर्णयलाई आधार मानी भारतीय पक्ष्यको आग्रहमा कोशी ब्यारेजको सुरक्षा मजबुत पारिएको सुनसरी प्रशासनले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले पछिल्लो पटकको दुई देशिय सीमा सुरक्षा बैठकका क्रममा भारतीय पक्षयले ब्यारेजको सुरक्षाको विषयप्रति चिन्ता व्यक्त गरेपछि सुनसरी प्रशासनका तर्फबाट ब्यारेज क्षेत्रमा सर्तकता बढाइएको बताउनुभयो ।
भारतीय समकक्षीले नेपाल भारत दुवै देशको चासोको विषयका रुपमा रहेको कोशी ब्यारेज आतंकवादीको निशानामा पर्न सक्ने आशंका अनुरुपको सूचना दिएअनुसार चेकजाँच र सुरक्षा तैनाथी बढाइएको प्रजिअ चापागाईले बताउनुभयो ।ब्यारेज सुरक्षाको जिम्मा नेपाल प्रहरीले गर्दै आएको छ । ससस्त्र प्रहरीको समेत उपस्थिती रहँदै आएतापनि सुरक्षा मजबुतिकालागि थप सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रजिअ चापागाईले बताउनुभयो ।









