काठमाडौं, साउन १३ / विश्वमा आतंकवादी घटना बढ्दै गएपछि नेपालको विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। दुई सातायता विमानस्थल सुरक्षामा कमान्डो तालिम गरेका प्रहरीको विशेष कार्यदल (एसटिएफ)बाट प्रहरी खटाइएको छ। सुरक्षा चुनौती मूल्यांकन गरी कार्यदलबाट ३५ जनाको प्लाटुन विमानस्थलको सुरक्षामा खटाइएको हो। विमानस्थल सुरक्षालाई बलियो बनाउन विशेष कार्यदलबाट प्लाटुन झिकाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी गोविन्द निरौलाले बताए।
टर्कीको इस्तानबुलस्थित एयरपोर्ट र बंगलादेशमा आतंकवादी हमलापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको हो। खासगरी विश्वमा नै आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आइएस)ले नेपाली भूमिलाई प्रयोग गर्न सक्ने सूचनाका आधारमा विमानस्थलको सुरक्षामा कडाइ गरिएको हो। आतंकवादी समूहले नेपाललाई निशाना नबनाए पनि नेपालमा रहेका विदेशीलाई निशाना बनाउन सक्ने सुरक्षा विश्लेषणका आधारमा सतर्कता बढाइएको हो। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।









