
इनरुवा साउन १८/सांसद विकास कोष मार्फत सुनसरीको मधेशा गाविसमा निर्माण गरिएको कालोपत्रे सडक १५ दिन नबित्दै जिर्ण बनेको छ ।
सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताले उपलब्ध गराएको १० लाख रकम सहित कुल ११ लाख ३१ हजारको लागतमा बनेको मधेशा ६ र ७ जोड्ने सडक बन्न नपाउँदै भत्किन थालेपछि स्थानीयहरुले विरोध जनाएका छन् ।
सडक कालोपत्रे गर्ने निर्माण उपभोक्ता समिति मधेशा मार्फत २ सय २० मिटर लामो कालोपत्रे सडक निर्माणका क्रममा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्थानीयवासी मणिराम कोइराला सडक १५ दिनमै भत्कन थालेकाले अबको १५ दिनमा सबै सडक पूर्ण रुपमा जिर्ण हुने दावी गर्छन् । अर्का स्थानीय हर्कबहादुर मगर सडक निर्माणको क्रममा ड्यामेज अलकत्रा प्रयोग गरिएको दावी गर्छन् । मगरका अनुसार निर्माणका क्रममा अत्यन्तै कम मात्रा प्रयोग गरिएको छ ।
मधेशा छ र ७ मा क्रमिक कालेपत्रे गर्दै लैजाने योजना अनुरुप वर्षेनी सडक कालोपत्रेको काम हुँदै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा यसअघिको उपभोक्ता समितिले बनाएको सडक जस्ताको त्यस्तै रहँदा हालसालै भिन्न समिति मार्फत बनेको सडक १५ दिन बित्न नपाउँदै खाल्टा पर्न थालेपछि स्थानीयवासीहरु केशव प्रसाद दाहाल अध्यक्ष रहेको वर्तमान उपभोक्ता समिति विरुद्ध अख्तियारमा उजुरीको तयारी थालेका छन् ।
उता उपभोक्ता समितिले कालोपत्रे सडक निर्माणको कार्य अझै अपुरो रहेको बताउँदै आएको छ ।








