साउन २१ इनरुवा / उमेरले ६८ वर्षिया वृद्धा भोटियान थरुनी प्रहरीसामू एकाएक भक्कानेर रुदैथिइन् ।उनि प्रहरीसामू कुनै उजुरी लिएर पुगेकी थिइनन् । सुनसरी प्रहरीले जेष्ठ नागरिकका गुनासो सुन्छ अरे भन्ने सुनेर अरुको पछि लागि उनी प्रहरीकहाँ पुगेकी रहिछन् ।
मनभरी पीडा लिएर बाँच्न गाह्रो हुँदो रैछ भन्दै भोटियान थरुनी सबैको सामून्ने भक्कानिन पुगिन् ।
दुई छोरीकी आमा थरुनी उमेरले वृद्धा अवस्थामा पुगेको उनको मुजा पर्न थालेको अनुहार अनि फुस्केका दाँतले सहजै अनुमान गर्न सकिन्थ्यो । आँखाबाट झरेका आँसु च्यातिन लागेको सारीको पच्छ्यौराले पुछ्दै उनि रुँदै थिइन् अनि भन्दैपनि थिइन् छोरी त आफ्नी हो तर ज्वाई कहिले आफ्नो हुन सकेनन् ।उनको भनाईको तात्पर्य दुई छोरीको बिहे गर्दा खेतवारी बन्धकी राखी लिएको ऋण उकास्न नसक्नु थियो । छोरीको विहे पूर्व जग्गा धितो राखी लिएको ऋण छोरी ज्वाईले तिर्ने सर्त गरिएको रहेछ ।
बिहे गरेर छोरी ज्वाईसँग गएपछि आफु एक्लो रहेको बताउने भुटियानी परिश्रम गर्न सक्ने अवस्था नरहेकाले धितो जग्गा छुटाउन आफुसँग सामर्थय नरहेको बताउँछिन् । सुरु सुरुमा ज्वाईले अलिअलि तिरिदिए तर अब सक्दैनौं भन्छन् । छोरी त मेरी हो तर परायालाई सुम्पेपछि के गरोस श्रीमान्कै कुरो मान्नु परो । आज म एक्लो भए , भोलिको दिन सम्झेर मन भक्कानिएर आउँछ । आसुँ खसाल्दै ६८ वर्षिया थरुनी आफ्नो जीवनयापन कष्टकर बन्ने संकेतको भाव पोख्दै थिइन् ।
थरुनी मात्र नभएर ७९ वर्षिय छविलाल पाण्डे पनि बुढेसकालको पीडा पोख्दै थिए । बढो गाह्रो हुँदो रैछ बुढाबुढी भएपछि । वास्तै गर्न छोड्दा रैछन् सबैले । कहिलेकाहीं त जीवन देखि दिक्क लागेर आउँछ । नारा खुबै घन्काइन्छ जेष्ठ नागरिक सरोकारका बारे तर लछारपाटो लाउने कोही हैनन् उनको आक्रोस ती सरोकारवालातर्फ इङ्गित देखिन्थ्यो ।
थरुनी र पाण्डे प्रतीनिधी पात्र मात्र हुन् जेष्ठ नागरिकहरुले झेल्दै आउनुु परेका समस्या सबैका आआफ्नै छन् । कतिपय त परिवारसँगको सम्वन्ध बिग्रिने डरले मनभित्रै व्यथा गुम्साएर राख्न बाध्य समेत छन् ।गुनासो र सुझावसँगसँगै समाधानको पाटो अघि बढाउने योजनाअनुरुप जिल्ला प्रहरी कार्यालयले थालेको जेष्ठ नागरिकसँग प्रहरी अभियानको प्रभावकारिता यतिवेला सबैको चासोको विषय बनेको छ ।
गुनासाहरुबारेको अध्ययन पश्चात परिवारमा मेलमिलाप, सरकारी सेवासुविधाको उचित प्रत्याभूतिको अनुभूति लगायत जेष्ठ नागरिक सरोकारका विषयमा सम्वन्धित निकायमा दृढताका साथ पहल थाल्न जिम्मेवारी वहन गर्ने प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताइरहँदा वृद्धवृद्धाका आखाँमा नौलो तरङ्ग छाएको अनुभूति गर्न सकिन्थ्यो । ती रसाएका आँखाहरु पोखरेलको अभिव्यक्तिले जगाएको आशाका किरणको पखाईमा देखिन्थे ।









