काठमाडौं / सुत्केरी हुनुभन्दा एक–दुई दिनअघिदेखि नै प्रिती बिरामी थिइन् । बिरामी अवस्थामै गत २० साउन राति ११ बजे उनले आफ्नै घरमा बच्चा जन्माइन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि २१ गते गाउँकै हेल्थपोस्ट लगियो । ‘हेल्थपोस्टमा ल्याइपुर्याउँदा बच्चा र आमाको स्वास्थ्य अवस्था निकै नाजुक थियो,’ सिर्दिबास स्वास्थ्य चौकीका अहेब प्रेम गुरुङले भने, ‘सुत्केरी महिला खोक्दा दिसापिसाब एकैचोटि हुने अवस्था थियो, ब्लिडिङ भइरहेको थियो ।’ बच्चाले पनि आमाको दूध नखाने र दुवैजनालाई ज्वरो आउने, सुन्निने भएपछि गाउँको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको उनले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रिफर गरिएको उनले बताए ।
दुर्गम गाविस भनेर चिनिने सिर्दिबासमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्घ हुँदा हेलिकोप्टर बोलाउनै नसकिएको कितमानका ज्वाइँ नाता पर्ने सुजन गुरुङले टेलिफोनमा बताए । ‘हामीले त भोलिपल्टै काठमाडौं लैजाने भनेका हौँ नि, फोन आएन, हिजो साँझ फोन आएपछि हेलिकोप्टरलाई सम्पर्क गर्दा मौसम खराबी छ, आज सकिँदैन भन्यो,’ सुजनले भने । ऋण गरेर हेलिकोप्टर चार्टर गरिएको उनको भनाइ छ।
‘आज (सोमबार) बिहान फिस्टेलको सरसँग कुरा गरेको एक लाख ४० हजार लाग्छ भन्नुभयो, हामीले घटाएर एक लाख २० हजारमा हेलिकोप्टर ल्यायौँ,’ सुजनले भने,‘घरमा पैसा पनि थिएन, काठमाडौंमा उपचार गर्न कति लाग्छ भनेर दुई लाखभन्दा बढी पैसा छरछिमेकसँग ऋण गरेरै जम्मा गरेर पठाएका थियौँ ।’ पैसाको जोहो गरेर सोमबार बिहान हेलिकोप्टरलाई सम्पर्क भएपछि गाउँलेले स्टेचरमा राखेर प्रितीलाई फिलिमसम्म ल्याएर हेलिकोप्टर चढाएका थिए । ‘हेलिकोप्टर चढाएर घर पुग्दा टेलिभिजनमा हेलिकोप्टर दुर्घटना भनेर समाचार आइसकेको रहेछ, अनि गाउँभरि रुवावासी सुरु भयो,’ सुजनले टेलिफोन सम्पर्कमा भने । घरमा ताल्चा लगाएर साइँला ज्वाइँलाई गाईवस्तुको जिम्मा दिएर कितमान बिरामी बुहारीको उपचारका लागि काठमाडौं गएका थिए । सुत्केरी महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
तीन दिनसम्म स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी र नवजात बच्चाको उपचारमा इटहरी घर भई फेज नेपालमा काम गर्ने निशा तामाङ खटिएकी थिइन् । उनी सुत्केरी महिला र बच्चाको हेरविचार गर्न सँगै काठमाडौं गएकी थिइन् । ‘उहाँ आज जाने कुरो थिएन, तर बच्चा र सुत्केरीको अवस्था नाजुक भएपछि हेलिकोप्टरभित्र हेरविचार गर्न भनेर उहाँ आफ्नै काखमा बच्चा राखेर हेलिकोप्टर चढ्नुभएको थियो,’ स्वास्थ्य संस्थाका अहेव प्रेमले भने । उनी तीन महिनादेखि सिर्दिवासमा कार्यरत थिइन् । उनको पनि हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।









