इनरुवा साउन २७ /सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने उद्येश्य साथ जिविस सुनसरीले नीजि सेवा प्रदायकहरुसँग छलफल गरेको छ ।
जिल्ला तहमा कृयाशिल क, ख र ग श्रेणीका बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुको भेला डाकी सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था बारे जिल्ला विकास समिति सुनसरीले छलफल चलाएको हो ।
गाविस सचिव लगायतको उपस्थितीकावीच स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले सासु भत्ता व्यवस्थित र पारदर्शी तुल्याउन वैंक तथा वित्तिय संस्था मार्फत वितरणको पहल थालिएको बताए ।सुनसरीमा स्थानीय गाउँ विकास समितिका कार्यालयहरु मध्ये मधेशा गाविसले अघिल्लो वर्षबाटनै वैंक मार्फत सेवा दिंदै आएको छ ।
अन्य गाविस कार्यालयको हकमा स्थानीय तहमै सासु भत्ता वितरण गरिँदै आइएको जिविसका पञ्जिकरण शाखा प्रमुख दिपेन्द्र मेहताले बताए । अन्य गाविसले स्थानीय तहमार्फन वितरण गर्दै आएको सासु भत्तालाई समेत छिटैनै बैंकिङ प्रणालीमा परिणत गरिने आउने मेहताले बताए ।
जिविस सुनसरीको सभाहलमा सम्पन्न सरोकारवालाहरुको बैठकले पहिलो चरणमा १९वटा गाविसको सासु भत्ता वितरणको जिम्मेवारी स्थानीय तहका वैंक तथा वित्तिय संस्थालाई दिने निर्णय गरेको हो ।कुन गाविसको खाता संचालन कुन बैंक मार्फत हुने भन्ने विषय भने टुङ्गो लागि सकेको छैन् । भत्ता पाउनेहरुको संख्या निर्धारणका आधारमा सम्वन्धित बैंकलाई जिम्मेवारी तोकिने जिविस सुनसरीले जनाएको छ ।









