
भाद्र ८ इनरुवा /जनकपुरको जानकी मन्दिरका साथै महेन्द्र मञ्जिलमा गरिएको विद्युत कटौतिको विरोधमा वृहत राष्ट्रवादी मोर्चा सुनसरीले इनरुवामा विरोध प्रर्दशन गरेको छ ।

सस्तो लोकप्रियता कमाउने उद्येश्यले पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको विद्युत कटौती गरी बदनाम गर्न खोजिएको भन्दै मोर्चाले उर्जा मन्त्रीले सार्वजनिक माफी माग्नु पर्ने माग गरेको छ ।

धार्मिक केन्द्रको विद्युत कटौति गर्न उद्यत देखिएका उर्जा मन्त्री जनादर्न शर्माले माफी नमागे आन्दोलन चर्काउने मोर्चाले चेतावनी समेत दिएको छ । मोर्चामा सहभागिहरुले इनरुवा नगरको परिक्रमा गरी कोणसभा गरेको थियो ।पूर्व शिक्षा सहायक मंत्री सिनेट श्रेष्ठको नेतृत्वमा सुनसरीमा केन्द्रिय कार्यालय स्थापना गरेको वृहत राष्ट्रवादी मोर्चाले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको छ ।
मोर्चाले सुनसरीको विभिन्न अज्ञात स्थलमा युवाहरुलाई छापामार शैलीको प्रशिक्षण समेत दिँदै आएको छ ।








