०८ असोज, दिलिप साह सप्तरी। सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले सङ्घीय लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच भएको संविधान संसोधनसहित ३ वुँदे सम्झौता कार्यान्वयन बारे अहिले पनि आफुहरु विश्वस्त नरहेको बताएका छन् ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल जिल्ला कार्य समिती सप्तरीले शनिवार आयोजना गरेको दोश्रो जिल्ला अधिवेशनमा प्रमुख अतिथी राईले संविधान संसोधन बारे सम्झौता भईसकेको र केहि प्रकिया मात्र बाँकी रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।राज्य पक्षले आफुहरुलाई वर्षो वर्षदेखि ठग्ने र विश्वास घात गर्ने काम मात्रै गरेकोले सो सम्झौतामा पनि आफुहरु विश्वस्त नभएको बताउनुभयो ।
‘राज्य पक्षले अहिलेसम्म गरेको अधिकांश सम्झौता पुरा गरेको छ्रैन’ उहाले भन्नुभयो– ‘त्यसैले संविधान संसोधनको सम्झौतामाथि पनि आफुहरुलाई शंका छ ।’ न्याय, स्वभिमान र जनताको भलाईका निम्ति आफुहरु आन्दोलन गर्न मात्र नभई लडाई लड्न पनि तयार रहेकोले यस पटकको सम्झौता कार्यान्वयन नभए आन्दोलनलाई लडाईको रुपमा परिवर्तन गर्ने उनले चेतावनी समेत दिनुभयो । ‘न्याय, स्वभिमान र जनताको भलाईका निम्ति आफुहरु लडाई लड्न तयार छौ’ उहाले भन्नुभयो– ‘सरकारको नियत फेरियो भने आन्दोलनलाई लडाईको रुप दिन्छौ ।’
राज्य पक्षको आदिवासी, जनजाति, दलित, मुस्लिमसहित उत्पिडित जनताप्रतिको वेवास्ता र उपहासकै कारण आज मुलुकमा राजनितिक स्थिरता नरहेको भन्दै उहाले जबसम्म राज्य पक्ष जिम्मेवार र आदिवासी, जनजाति, दलित, मुस्लिमसहित उत्पिडित जनताप्रति गम्भिर नभए देशको विकास समेत नहुने बताउनुभयो । ‘मुलुकमा राजनितिक स्थिरता नभए देशको विकास सम्भव छैन’ उहाले भन्नुभयो–‘मुलुकमा राजनितिक स्थिरता कायम गर्न राज्य पक्षलाई जिम्मेवार र गम्भिर हुन् आवश्यक छ ।’
कार्यक्रममा मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रिय अध्यक्ष बालकिशोर यादवले मधेशका जिल्लाहरुमा रहेको स्वास्थ्य संस्थाहरुको समस्या बारे सरकारले वेवास्ता गरिहेकोले यहाँका अस्पतालहरुमा चिकित्सकको पदपुर्ति र अस्पतालको जिर्णोधारमा समेत समस्या भईरहेको बताउनुभयो ।
स्वास्थ्यकर्मी फोरमका जिल्ला अधिवेशन तयारी समितीका संयोजक शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अनिरुद्ध प्रसाद सिंह यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादव, अखिल नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष विरेन्द्र दास, नेपाल निजामति स्वास्थ्यकर्मी मञ्चका जिल्ला अध्यक्ष अजय झा, गोल्डेन अस्पताल विराटनगरका प्रतिनिधि शम्भुनन्द मण्डल, मधेशी स्वास्थ्यकर्मी फोरम झापाका अध्यक्ष रामकुमार यादव लगायतका वक्ताले मधेशका जिल्लाहरुमा रहेका स्वास्थ्य सम्वन्धी समस्था बारे बोलेका थिए ।









