७ मंसिर, काठमाडौं । पछिल्लो समय कलाकार राजनीतिमा प्रवेश गर्ने लहर चलेको छ । सुरुमा माओवादी युद्धसकिएपछि माओवादीमा प्रवेश गर्ने कलाकारको लर्को लागेको थियो । त्यसपछि कलाकारहरु राजनीतिमा खुलेर लाग्न थालेका हुन् । माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइको नयाँ शक्तिमा सदावहार नायिका करिष्मा मानन्धर लागेपछि त्यसको चर्चा थप चुलियो । सोमबार बाट लोक गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।
राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।सोमबार ओली राप्रपामा प्रवेश गर्दा कमल थापा अत्यन्त खुशी भए । पार्टी एकता सभालाई सम्बोधन गर्दै अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । उनको खुशीको कुरा त्यो नै थियो सोही कार्यक्रम मार्फत लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत भइरहेको थियो ।
कमल थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाएर स्वागत गरे ।नेपाली चर्चित समाचार वाचिका एवम् लोक गायिका वलीको स्थायी घर दाङ हो । उनी हाल रेडियो नेपालमा जागिरे छिन्। वलीका चर्चित दर्जनौ गीत समेत रहेका छन् ।









