
अमर काफ्ले इनरुवा मंसिर १५/ “भोट देउ हैन भने म मरे डढाउन काम आउँछ दाउरै भएनि देऊ। ” एकताका चुनावी नाराझैं बनेको थियो सो भनाई । दोस्रो संविधान सभा निर्वाचनकालागि नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्वर ४ उम्मेदवार बनेको सीताराम मेहता चुनावी प्रचारकालागि घरदैलो अभियानमा निस्कँदा केवल एउटैजसो भनाई व्यक्त गर्थे, मलाई केहि गर्ने मौका दिनोस म गरेर देखाउँछु , त्यसैले यात भोट देऊ यात दाउरा नै सहि ।
आफुलाई गरिवका नेता भन्न रुचाउने तिनै सीताराम जनताको बहुमूल्य मतका साथ विजयी समेत बने । यतिवेला उनि पार्टीको सिफारिसमा देउवा पक्षबाट यातायात राज्य मंत्री बन्न सफल भएका छन् । हुनत उनलाई वन राज्य मंत्रीमा सिफारिस गरिएको थियो । देउवा पक्षका उनी अन्ततः मागे बमोजिमको मन्त्रालयको जिम्मेवारी पाउन सफल बनेका छन् ।
राज्य मंत्री बन्नकालागि पार्टी भित्र निकै आकांक्षीहरु हुँदाहुँदैपनि देउवा पक्षकै भएकै कारण उनले बाजी जित्न पुगेको कांग्रेसीभित्रै चर्चा भैरहेको छ । न्यून सम्भावनाको आंकलनकावीच अन्ततः यातायात राज्य मंत्री बन्न पुगेका मेहताले शपथ समेत लिएका छन् । विक्रम संवत २०१० सालमा जन्मेका सीताराम मेहता सानै देखि अरु भाइहरु भन्दा भिन्न सोच राख्दथे ।
गाउँघरमा अहिलेको जस्तो छोराछोरीलाई स्कुल पठाउने चलन नहुँदा बाबुआमा छोरोले खेतीपाति सघाओस भन्ठान्थे तर सीताराम पढ्न चाहन्थे । परिवारको जेठो छोरो जिम्मेवारी बढी थियो यद्यपी पढाईप्रतिको रुचिका कारण सबैको साथ र सहयोगमा उनको पढाई प्रतिको रुचिले सार्थकता पायो । इनरुवाको भगवती माविवाट विद्यालय स्तर सम्मको पढाई सकेका मेहता कलेज भर्ना भएका थिए । उनले पढाइलाई त्यसपछि भने खासै निरन्तरता दिन सकेकन् । उनि राजनीतीमै होमिए ।
इनरुवा जेसिसको संस्थापक समेत रहेका सीताराम २०२८ साल देखि नेपाल विद्यार्थी संघमा सक्रिय भई लागेका थिए । मेहता २०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति बनेका थिए । राजनितीमा सक्रियताका साथ लागिपरेका उनि २०३५ सालदेखि नेपाली काँग्रेस सुनसरीको सदस्य बन्न पुगे । प्रजातन्त्र स्थापनाकालागि भित्रभित्रै संगठित हुदै जनतालाई तत्कालीन व्यवस्थाका विरोधमा लाग्न अभिप्रेरित गर्ने कार्यमा सक्रिय भएकै कारण त्यस वेलाका शासकहरुबाट पक्राउ देखि विभिन्न किसिमका यातना समेत उनले सहनु परेको थियो ।
राजनैतिक दलहरुको अग्रसरतामा जनदबाव बढ्दै जाँदा पञ्चायती व्यवस्थाले २०४६ सालमा घुँडा टेक्यो । वहुदलिय व्यवस्थाको स्थापना भयो । प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसमा पाटीका उमेद्वारहरुलाई जिताउन सक्रिय भएर लागि परेका थिए मेहता । चार निर्वाचन क्षेत्र मध्ये नेपाली काँग्रेसले तीनवटा निर्वाचन क्षेत्रमा बाजी मार्यो सो बेला । पाटीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालापनि सुनसरीवाटै विजयी बनेका थिए ।
सीताराम मेहता २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका तर्फवाट विजयी बनेका थिए । उद्यपी २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा पाटीका तर्फवाट मेयरका उमेद्वार बनेका उनि पराजित हुन पुगे । नेपाली काँग्रेस प्रजातान्त्रिकको सुनसरी सभापति बन्न पुगेका मेहता पाटी एकीकरणसँगै जिल्ला सहसभापति बन्न पुगे । पहिलो मधेश आन्दोलनताका मधेशका जायज मागहरु सम्बोधन हुनुपर्छ भन्ने अभिव्यक्ति दिएकै कारण पाटीभित्रैबाट उनले विरोधका स्वरहरुको सामना गर्नुपरेको थियो ।
काँग्र्रेस छाडी आउन गरेको आग्रह उनले वेवास्ता गर्दै जायज मुद्धा सम्बोधन हुुनुपर्छ भन्ने भनाईमा आफ्नो साथ र समर्थन रहेपनि काँग्रेस नछाड्ने अडानले मधेश केन्द्रित पार्टीले राखेको संविधान सभा निर्वाचनमा लड्न गरेको आग्रह अस्विकार गरी काँग्रेसबाटै उमेद्वारका रुपमा लड्न पुगे । उक्त निर्वाचनमा मधेशी जनअधिकार फोरमले बाजी मार्दा सीताराम पराजित हुन पुगे । यद्यपी उनले दोस्रो संविधान सभाको निर्वाचन २०७० मा पुनः पाटीका तर्फबाट उमेद्वारको टिकक पाए र सो चुनावमा विजयी हुँदै क्षेत्र नम्वर ४ का सभासद बन्न पुगे ।
जनताले विश्वास गरेर मलाई निर्वाचित गराए । पाटीले उठाएका राजनैतिक मुद्दाहरु संविधानसभामा उठाउनेछु साथै स्थानीय विषयवस्तुहरुलाई पनि प्राथमिकतामा राख्ने छु उनि स्थानीय तहमा हुने हरेकजसो कार्यक्रममा सहभागि हुन आइपुग्थे र सोही अभिव्यक्ति दोहोर्याउथे ।
यतिवेला उनै सुनसरी क्षेत्र नम्वर ४ का सांसद यातायात राज्य मंत्री बनेका छन् । उनको काँधमा सुनसरीको मात्रै नभएर राष्ट्रकै जिम्मेवारी थपिएको छ । उनले चाल्ने कदम इनरुवासी सहित क्षेत्र नम्वर ४ र सिङ्गो जिल्लावासीका लागि पर्ख हेर अनि खबरदारी गर भन्ने तर्फ केन्द्रित बनेको छ ।








