
अमर काफ्ले पुष १५ इनरुवा/सुनसरीमा महिला हिंसा सम्वन्धि घटनाका उजुरी आउने क्रम बढ्न थालेको छ ।
महिला माथि हुने गरेका विभिन्न किसिमका लैंगिक तथा घरेलु हिंसाका उजुरी लिएर सम्वन्धित कार्यालयमा पुग्नेको संख्या बढेको हो । चेतनास्तरमा आएको वृद्धिसँगै उजुरी बोकी प्रहरीसमक्ष न्यायको माग गर्दै पुग्नेहरुको संख्या बढ्न पुगेको हो ।

पछिल्लो समय ग्रामिण भेगका महिला स्वयं आफुलाई परेको अन्यायको सुनुवाईको माग गर्दै प्रहरीकहाँ पुग्ने क्रम बढेको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीकी महिला बिकास निरीक्षक सरिता भण्डारीका अनुसार क्रमश चेतनाको लहर फैलदैं जाँदा परिवार र समूदायमै गुम्सिएर रहेने वेदना तथा पीडा बाहिरीन थालेका हुन् । हिंसा सहनुहुन्न भन्ने भावनाको विकाससँगै पछिल्लो समय स्वयं महिलाहरु समेत त्यसतर्फ सचेत बन्न थालेको भण्डारी बताउँछिन् ।

महिला तथा बालबालिका कार्यालय सुनसरीले शुक्रबार इनरुवामा आयोजना गरेको कार्यक्रममा पछिल्लो ५ महिनामा भएका हिंसाका घटनाबारे जानकारी दिइएको थियो । प्रस्तुत तथ्यांकमा चालु आ.व.को पहिला ५ महिनामा सुनसरीमा १ सय ५५ वटा घरेलु तथा लैगिंक घरेलु हिंसाका उजुरी परेको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकी महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक बिनु बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा चालु आवको ५ महिनामा ंिहंसाका घटनामा बृद्धि भएको उल्लेख छ ।
यूएन एफ पिए सुनसरीको सहयोगमा आयोजना गरिएको पत्रकारसँगको अन्र्तकृयामा प्रस्तुत प्रतिवेदनका अनुसार सुनसरीमा खाना लगाउन नदिएको ४५ वटा, कुटपिट सम्बन्धी १०० वटा र गालिगलौज तथा झै–झगडा सम्बन्धी १० वटा उजुरी आएका छन् । उजुरी आएका मध्ये ९४ जनालाइ सहमति गरि पठाइनुका साथै २ जनालाइ अदालतमा पठाइएको जनाइएको छ । सुनसरीमा महिला हिंसा तथा घरेलु हिंसाको घटना सबै भन्दा बढी मुस्लिम समुदायमा देखिने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसका लागि अझैपनि पर्याप्त पहलको खाँचो औल्याइयो ।

लैंगिक हिंसा न्यूनिकरणको प्रयासमा सकारात्मक सूचना र सन्देश जनमानसमा प्रवाहको उद्येश्य अनुरुप पत्रकासँगको अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय सुनसरीले जनाएको छ । हिंसा न्यूनिकरणका लागि सचेतना कार्यक्रम संचालनकालागि हरेक तह र तप्काकाका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यका साथ अघि बढ्ने मञ्जु शर्माले बताइन् । कार्यक्रमको प्रभावकारीताका लागि समन्वयात्मक भूमिका आवश्यक रहेकाले जवाफदेहिता सहितको कार्यान्वयको पाटोलाई आत्मसाथ गरि अघि बढ्नु पर्नेमा यूएनएफपिए सुनसरी संयोजक काशी पोखरेलले जोड दिनुभयो ।








