
पुष १८ झुम्का /रामधुनी भासि नगरपालिकाको तेस्रो नगर परिषद्ले आर्थिक वर्ष २०७४।०७५ कालागि १६ करोड बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले आर्थिक वर्ष २०७४।०७५का लागि १६ करोड १२ लाख ९ हजार ५ सय बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

रामधुनी भासि नगरपालिकाले पूँजिगत अनुदान २ करोड ७९ लाख ५७ हजार, आन्तरिक श्रोतबाट १ करोड ४९ लाख ९२ हजार, नेपाल सरकारबाट अनुदान २ करोड ५० लाख, नगर विकास कोषबाट १ करोड ६० लाख, पूजिंगत खर्च ४ करोड ४ लाख ३ हजार र ५ करोड ५० लाख सामाजिक सुरक्षा अनुदान लगायत गरी कुल १६ करोड बढीको बजेट आगामी आवकालागि विनियोजन गरेको छ । समग्र नगर विकास लक्षित गरी संचालनमा ल्याइने कार्यक्रमलाई जनसहभागिता मूलक र समानुपातिक तवरमा अघि बढाइने रामधुनी भासि नगरपालिकाले जनाएको छ ।

नेकपा एमालेका सचिव भीम आचार्यले उद्घाटन गर्नुभएको तेस्रो नगर परिषद्का वक्ताहरुले कान्छो नगरपालिका भएरपनि विकासको फड्को मार्ने तर्फ उद्यत बनेको रामधुनी भासिको समुन्नत बिकासकालागि सबैको साथ र सहयोगको अपरिहार्यता औल्याएका थिए ।









