२५ माघ, प्रेम गिरी दुहवी। संघीय समाजवादी फोरम नेपाल सुनसरीको पहिलो एकता अधिवेशनको नयाँ अध्यक्ष पदकोे लागि निवर्तमान अध्यक्ष भगिरथ खत्वे र महेन्द्र यादवविच प्रतिष्पर्घा भएपछि निर्वाचन प्रकृयाबाट महेन्द्र यादव अध्यक्ष पदमा निर्वाचीत भएका छन ।
कुल ५२२ मत मध्ये ३६५ मत खसेकोमा महेन्द्र यादवले ३०१ र भगिरथ खत्वेले ६१ मत पाएका थिए ३ मत भने बदर भएको थियो । नोमिनेसनको समय सकिदासम्म ५० जिल्ला सदस्य पदमा सहमति भएको थियो । कुल ५० जिल्ला सदस्य मध्ये २० जना आरक्षित र ३० जना खुल्ला गरी विभाजन गरिएको थियो । जसमध्ये ३० खुल्ला सदस्य पदमा ४८ जनाको उम्मेदवारी परेको थियो । आन्तरिक रुपमा बाँकीलाई पछि सदस्य पदमा मनोनित गर्ने सर्तमा सहमति गरी ३० जना खुल्ला तर्फको सदस्यको सूचि निर्वाचन मण्डललाई बुझाईएको थियो।
जसमा ९ जना महिला छन । आरक्षित २० सदस्य सिटमा १७ जना सर्वसहमतिमा चयन भएका छन । आरक्षितमा पाँच वटा निर्वाचन क्षेत्रबाट एक महिला र एक पुरुष गरी १० जना, क्षेत्र नम्बर ५ बाट दुई पुरुष र एक महिला, शिल्पी समूदायबाट दुई जना, आदिबासी जनजातिबाट १ जना, मधेसीबाट १ जना निर्विरोध भएका छन ।
आरक्षितको बाँकी ३ स्थानमा पछि मनोनित गरिने छ । शिल्पी समूदायको २ सिटमा ३ जनाको उम्मेदवारी परेपनि पछि एक जनाले उम्मेदवारी फिर्ता लिएपछि सहमति बनेको थियो । आइतबार अबेर राति सुनसरीमा भएको निर्वाचनमा यादवले तीन सय एक मत ल्याई भारी मतले विजयी भएका छन् । प्रथम एकता अधिवेशनले यादवको नेतृत्वमा ५१ सदस्यीय संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति घोषणा भएको छ ।









