
अमर काफ्ले माघ २९/सुनसरीका स्थानीय विकास अधिकारी लामो समययता अनुपस्थित छन् । रामप्रसाद वाग्ले कार्यालयमा हाजिर नभएको महिना दिन वित्न लाग्यो । अधिकारी वाग्ले मन्त्रालयबाट विदा थप गरी फागुन ८ गते सम्मकालागि विदामा बसेका छन् । प्रजिअ लोकनाथ पौड्यालसँगको बढ्दो दुरीसँगै वाग्लेले जिल्ला छाड्दा जिविसको कार्य सम्पादनमा प्रत्यक्ष असर पुगेको जिविसका कर्मचारीहरु बताउँछन् ।
आफुले कसैलाई गाली बेइजति नगरेको बताउने प्रजिअ पौड्यालले कार्यस्थल छाडेर हिड्नुको साटो असन्तुष्टिको विषय बसेर सुलझ्याइनु पर्ने बताए । तोकेर आक्षेप नलगाएपनि प्रजिअ पौडेलले आफुले आफ्नो कार्यकालमा कोही कसैलाई गलत कार्य गर्न नदिने र त्यस्तो कार्यलाई प्रोत्साहन समेत नदिने स्पष्ट पारे ।
सार्वजनिक रुपमै पटक पटक गाली सहेका एलडियो आजित भएर जिल्ला छाडेको स्थानीय कर्मचारीहरुले बताइरहँदा स्वयं एलडियो वाग्ले समेत अब आफु जिल्ला नफकर्ने र फकर्नै परे पनि रवाना बुझ्न मात्रै आउने बताउँछन् । टेलिफोन सम्पर्कमा वाग्लेले जिविसमा अब नयाँ एलडियो आउने पक्कापक्की जस्तै भएको जानकारी दिए । ढुङ्गा, गिटी, बालुवाको अनाधिकृत उत्खननको विषयबाट उब्जेको विवाद बढ्दै जाँदा स्थानीय विकास अधिकारी वाग्ले र प्रजिअ पौड्यालवीच मनमुटावको विजारोपण भएको जानकारहरुको बुझाई छ ।








