
इनरुवा फागुन ११ /नापी अधिकृतमाथि हातपात भएको भन्दै नापी कार्यालय इनरुवामा तालाबन्दी गरिएको छ । नापी अधिकृत अरविन्दकुमार सिंहमाथि दुर्व्यवहार भएको भन्दै नापीसँग सम्वन्धित लेखापढी व्यवसायीले कार्यालयमा तालाबन्दी गरी विरोध जनाएका हुन् ।
लेखापढी व्यवसायीहरुले कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरीरहँदा कार्यालयका कर्मचारीहरुले समेत विरोधप्रति समर्थन जनाएका छन् ।
आफुमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै अधिकृत अरविन्दकुमार सिंहले दोषी उपर कार्वाहीको माग गरेका छन् । सिंहले रामधुनी भाषी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले आफुमाथि हातपात गरेको दावी गरे। कार्यालयको कामकाजमा व्यस्त रहेकाबखत चौधरीले एक्कासी आफुमाथि हातपात गरेको सिंहको भनाई छ । जग्गाको काम लिएर आएका अधिकृत चौधरीले काम छिटो गर्न दवाव दिएको र आफुले सबै कागजात हेरेपछिमात्र प्रकृया अघि बढाउने बताउँदा कुटाई खानु परेको गुनासो पोखे ।
उता हातपातको आरोप लगाइएका रामधुनी भाषी नगरपालिका झुम्काका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आफुमाथि लगाइएको आरोप निराधार भएको प्रतिकृया दिएका छन् ।ढिलासुस्तीप्रति आवाज उठाउँदा आफुमाथि झुटो आरोप लगाइएकाले अधिकृत चौधरीले वास्तविकता छानविनको माग समेत गरेका छन् ।
नापी कार्यालय सुनसरी कार्यसम्दानमा ढिलासुस्ती र छिटो सेवा प्रवाहको वहानामा कर्मचारीले रकम माग गर्ने जस्ता विषयका कारण पटक पटक विवादमा पर्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।घटनाको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले दुवैपक्षलाई वार्ताकालागि बोलाइएको बताउनु भएको छ । प्रजिअ पौड्यालले गृहमंत्रीको कार्यक्रमका कारण बुधवार छलफल हुने सम्भावना नरहेकाले विहीवार दुवैपक्षलाई प्रशासनमा बोलाएर वास्तविकता छानविनको प्रकृया अघि बढ्ने जानकारी दिनुभयो ।कार्यालयको कामकाजमा कुनै अवरोध नपुर्याउन र पुग्न नदिन आफुले गरेको आग्रहलाई नापी कार्यालयले अटेर गरेकाले त्यसतर्फ समेत सम्वन्धित निकायको जवाफ माग गरिने प्रजिअ पौड्यालले बताउनुभयो ।
रामधुनी भासी नपाका लागी धरान निवासी निर्मल आचार्यले सिगीया ३ क को ०–८–० आठ कट्ठा र गोमादेवी आचार्यले ०–१–६ एक कट्ठा साढे १६ धुर जग्गा दान दिए पछि सो जग्गा रजिष्ट्रेशन पास गर्नका लागी जग्गा धनी सहित कार्यकारी अधिकृत चौधरी लगायतका स्थानीयहरु मंगलवार नापी कार्यलय इनरुवा पुगेका थिए । कार्यालयमा तालाबन्दी गरिएपछि नापी कार्यालय सुनसरीको सम्पूर्ण कामकाज ठप्प बनेको छ ।








