अमर काफ्ले,भेडेटार मंसिर ३/ जिल्लामा बढ्दो मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि सरोकारवालाहरुवीच सहकार्य अभाव रहेको जानकारहरुले बताएका छन् ।
पछिल्लो समय सुनसरीको इटहरी र धरान लगायत भारतीय सीमावर्ति क्षेत्रबाट मानव बेचविखन तथा ओसार पसारका घटनाहरु देखापर्ने क्रम बढेकाले सरोकारवालाहरुले समस्या न्यूनिकरणका लागि एैक्यवद्धताको खाँचो औल्याएका हुन् ।बिहीवारबाट भेडेटारमा सुरु भएको दुई दिने मानव बेचविखन तथा ओसारपसार विरुद्ध कार्ययोजना तर्जूमा विषयक कार्यशालामा जिल्लामा देखिएको महिला, बालबालिका तथा मानव बेचविखन विरुद्धका घटना न्यूनिकरणको सामूहिक प्रयास खोजिने आयोजकले बताएको छ ।
साझा सवालका लागि साझा मंच कोकन र प्लान नेपालको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचविखन तथा ओसार पसार सम्वन्धि एक वर्षे रणनीतिक कार्ययोजना तयार पारिने कोकन संयोजक मञ्जिता उपाध्यायले बताइन् । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय निर्देषक कोशराज न्यौपाने, पूर्व सहसचिव रत्नकाजी बर्जाचार्य लगायत सरकोकारवाला निकायका प्रतिनीधिहरुको उपस्थिती रहेको छ ।









