काठमाडौं / भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।
संसद्मा जारी गतिरोधलाई निकास दिन सभामुख घर्तीले आग्रह गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संसद्को दुईवटा बैठक राख्न प्रस्ताव गर्नुभएको थियो । पहिलो बैठकले संसद्मा आजसम्म भएका काम-कारबाही र राष्ट्रपतिबाट आएका पत्रबारे जानकारी दिने, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बोल्ने कार्यसूची तय गरिएको छ ।
पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संसद् किन बन्द गर्नुपर्यो र खुल्यो भन्नेबारे संसद्लाई जानकारी गराउनुहुनेछ भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले त्यससम्बन्धमा आफ्नो प्रतिक्रिया दिने कार्यक्रम छ । सभामुखले राष्ट्रपतिको पत्र पढ्दै आफ्नो धारणा व्यक्त गरेपछि आधा घन्टापछि बस्ने दोस्रो बैठकले प्रधानमन्त्री निर्वाचन गर्ने सहमति भएको जानकारी स्रोतले दियो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।








