
अमर काफ्ले /इनरुवा र इनरुवावासीकालागि राजन मेहता कुनै अन्जान र गुमनाम पात्र पक्कै हैन् । सडक नाटकको पात्र होस या निर्देशक । एनजिओकर्मी हुँदै एनजियो संचालनसँगै विविध कार्यक्रमका दौरान नगरवासीसँग परिचित मेहता यतिवेला जननिर्वाचित व्यक्ति बनेका छन् ।
नगरवासीको विश्वास जित्दै प्राप्त जनमतका आधारमा ५ वर्षे कार्यकालकालागि इनरुवा नगरपालिकाको प्रमुख चुनिएका मेहताको परिचय फेरिएको छ । मेयर साब बनेका राजनप्रति नगरवासीको निकैनै आशा र भरोषा छ । त्यही भरोसामा खरो उत्रने दाउमा जुटेको बताउने नगर प्रमुख मेहता आफुमाथि लागेको ल्याङफ्याङेको ट्याग नगर केन्द्रित विकास निर्माणसँगै स्वतः धमिलिएर जानेमा विश्वस्त छन् ।
इनरुवामा आयोजित एक औपचारिक कार्यक्रमका दौरान मेहताले सम्बोधन गर्दैगर्दा सहभागिहरु खित्का छोडेर हाँस्दै थिए । स्वयं मेहता समेत आफ्नो सम्बोधनसँगै मुस्कुराई रहेको देखिन्थे । विकासको गतिमा पछिपरेको इनरुवा नगरको प्रशंगमा मेहता भन्दैथिए “दायित्व मेरो काँधमा छ । सबैसँगको साथ र सहकार्यलाई आत्मसाथ गर्दै पिछडिएको नगरको बिल्ला हटाउने छु । ”
तब हाँसो एकसाथ छुट्यो । जब मेहताले बोले “हुन त मलाई सबैले ल्याङफ्याङेनै ठान्छन् । अब जे गर्छ यही ल्याङफ्याङेलेनै गर्नेछ ।” यो राजन हिजो जे थियो अब त्यो रहेन् । निर्वाचित जनप्रतिनीधिको भूमिका निर्वाह गरेर नगरवासीको विश्वास जित्ने अपेक्षा रहेको उनले सुनाए । आफुलाई ल्याङफ्याङे र टपरटुइया जस्ता शब्द प्रयोग गरी कुदृष्टिको नजरले हेर्ने जमाततर्फ लक्षित गर्दै मेहताले भने हेर्दै जानोस जे गर्छ अब यही मेहताले गर्छ । सबैले देख्ने र अनुभूति गर्ने विकास गर्छ ।

इटहरीको बिकास क्रम सँगै दु्रत्रगतिमा विकासको क्रममा अघि बढेको रामधुनी र दुहवी नपालाई उदाहरणका रुपमा लिँदै राम्रा पक्षहरुको अनुशरण गर्दै जानु आफ्नो प्रमुख लक्ष्य रहेको नगरप्रमुख मेहताले कार्यक्रममा सम्बोधनको क्रममा बताए । मेहताले नगरको समग्र विकासलाई मध्यनजर गर्दैै विज्ञसहितको राय र नगरवासीको सुझावलाई ग्रहण गरी भावि योजनाहरु संचालनमा ल्याइने जानकारी समेत गराए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्लाअधिकारी गोपालप्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ, सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेल, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला अधिकारी चुँडाल, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका निमित्त प्रमुख राजेन्द्र आचार्य, यूएनएपीएका काशीनाथ पोखरेल लगायत अधिकारकर्मी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।








