अमर काफ्ले इनरुवा /चुनावपूर्व मेयरका आकांक्षीका रुपमा नाम लिइदा राजन मेहतालाई अधिकांशजसो आम नगरवासीले हेर्ने दृष्टिोण अलि भिन्न थियो । चुनावी नतिजा बाहिरिदै जाँदा फेरिदै गएको नगरवासीको सोच राजन मेयरमा निर्वाचित भएसंगै अपेक्षामा बदलिएको छ ।नगरवासीको अपेक्षा अनुरुप मेहताले समेत प्राथमिकताका आधारमा नगरविकासका कार्यहरुलाई अघि बढाउन थालेका छन् । क्रमशः सबै क्षेत्रमा नगरवासीले सुधारको अनुभूति हुने वातावरण सीर्जना गराउन लागिपरेका मेहतासँगको सहकार्यमा नगरवासीको समेत साथ र समर्थन जुट्दै गएको छ ।
त्यसैपनि अग्लो र हट्टाकट्टा शरीर अनि खरो स्वभाव । निर्वाचन पश्चात थपिएको जनप्रतिनीधिको जिम्मेवारी । गल्ती गर्ने र अटेर गर्नेहरुकालागि खरै भएर प्रस्तुत हुने उनको स्वभावले प्रभाव छाड्न थालेको छ । अनुगमन होस या जन गुनासो सम्बोधन । मेयरसाबले बोलेपछि सक्कीयो । मेहताको सम्पर्कमा पुगेका नगरवासी मात्रै नभएर स्वयं इनरुवा नगरपालिकाका कर्मचारीहरु समेत मेयर भएपश्चात चालिएका कदमलाई राजन “ on the spot ” भन्न रुचाउँछन् । on the spot अर्थात ठाडो आदेश अनि कार्यान्वयन नभए कार्वाही ।

अब्यवस्थित गुद्री बजार, झिँगा भन्किरहेको मासु, कुहेको र बिग्रिएका सँगै राखिएका सागसब्जी अनि डुङ्गडुङ्गती गन्हाइरहेको नाला । मेहता एकाविहानै इनरुवा १ मा रहेको सब्जी बजार अर्थात गुद्री पुगे । निकै झोंक्किएका मेहताले नाक थुन्दै निर्देशन दिए “ बढीमा २,३ दिनभित्र गुद्री बजार सफा सुग्घर र नाक थुन्नु नपर्ने बन्नु पर्यो, परिणाम चाहियो नभए कार्वाही गर्छु ” । इनरुवा नगरपालिकाका सम्वन्धित जिम्मेवारी नियाल्ने सबैजसो कर्मचारीकालागि मेहताको निर्देशन थियो त्यो ।
तत्कालबाटै काम थाल्ने निर्देशन पश्चात गुद्री बजारको सरसफाई थालियो । लथालिङ्ग शौचालयको संरचना मर्मत गर्ने देखि सफागरी प्रयोग योग्य बनाउने कार्य अघि बढाइयो । तोकिएको कोठाको भाडा तिरे बाहेक अन्य ठाउँ ओगट्ने ब्यापारीका हकमा थप भाडा लगाउन या सामान एकतृत पार्न कर्मचारीलाई मेहताले निर्देशन दिए । पार्क शैलीको गुद्री बजारको परिकल्पना अनुसारको काम अघि बढाउन समेत कर्मचारीकालागि मेहताको निर्देशन थियो ।

काम नगर्ने अटेर गर्ने र वहानावाजी गर्ने कर्मचारीतर्फ लक्षित गर्दै नगर प्रमुख मेहताले त्यस्ता कर्मचारीकालागि नगरपालिकामा स्थान नहुने स्पष्ट पारे । तोकिएको जिम्मेवारी पुरा गरेको नपाइए त्यस्ताको हकका कार्वाही अघि बढाउन आफु पछि नहट्ने मेहताले स्पष्ट पारे । मेहताले गुनासो भए आफुलाई जानकारी गराउन समेत नगरवासीमा आग्रह गरे ।
स्थानीय व्यापारी, नागरिक समाज,अगुवा लगायतलाई गुद्रीमै भेला पारेका मेहताले सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउन समेत आग्रह गरे । स्थानीय तहको विकास सबैको साथ र सहयोगबाट मात्रै सम्भव हुने भएकाले सहकार्य र समन्वयकालागि उनले सबैबीच हातेमालोको आवश्यक्ता औल्याए । मेहताको कदम र योजनाप्रति स्थानीय व्यापारी लगायत उपस्थित अन्यले समेत साथ र समर्थन जनाएका थिए । अनुगमन नियमित गरिनुपर्ने स्थानीय उपभोक्ता लगायत सर्वसाधारणको मागलाई नगरप्रमुख मेहताले कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाए । खुट्टा तान्नेहरुहरुप्रति आफु सजक रहेको बताउँदै मेहताले आफ्नो कार्यकालमा इनरुवालाई नमूना नगर बनाई छाड्ने अठोट समेत गरेका छन् ।










