११ साउन, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परेको स्पष्ट गरेको छ । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी ग्रहण लाग्ने भएका कारण नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परेको जनाएको हो ।
यसअघि पनि नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परे पनि समितिले जनाएको छ । नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर कालसर्प योग नामक संस्थाले भ्रम फैलाएको पनि पनि उनीहरुले जनाएका छन् । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ ।
पचाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले कालसर्प योग शास्त्र बिरोधी र विश्वास नभएको संस्था भएको कारण भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले भने, ‘यो कालसर्प योग कुनै शास्त्रमा छैन, भारतबाट हाम्रो संस्कार र संस्कृतिलाई धमिलो बनाउने काम भएको छ, हामी यस्ता गलत कामबाट सचेत हुनुपर्छ ।’
पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सुर्यप्रसाद ढुङ्गेलले इतिहासका केही वर्ष अघिजस्तै यो वर्ष नागपञ्चमी र रक्षा बन्धन एउटै दिन परेको बताए । ‘त्यो दिनमा ग्रहण लाग्ने कुरा सत्य हो, हाम्रो देशमा ग्रहण लाग्छ,’ ढुंगेलले भने, ‘विश्वमा छरिएर रहेका नेपालीहरू यो पर्वमा समाहित हुने हुँदा ग्रहण नलाग्ने देशमा रहेका नेपालीहरू फरक दिनमा यी पर्व मनाउन सक्छन् ।’
त्यस्तै, कार्यक्रममा नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले कालसर्प योगका नाममा जनतालार्इ ठगीरहेकाले सरकारले यो संस्थालाई तत्काल कानुन बमोजिम कारवाही गर्नुपर्ने बताए ।
कार्यक्रममा ज्योतिष कृष्ण अधिकारी, माधव प्रसाद पाण्डे लगायतले कालसर्प योगका कुरा गर्नेलाई वहिष्कार गर्नका लागि सबैलाई आग्रह गरे । तोकिएको समय, दिनमा नागपञ्चमी र रक्षा बन्धन पर्वलाई हर्षउल्लासकासाथ मनाउन उनीहरुले अपिल गरेका छन् । साउन २३ गते पूर्णिका दिन चन्द्रग्रहण लाग्ने भएकाले दश दिनअघि साउन १३ गते शुक्रबार नागपञ्चमीकै दिन रक्षा बन्धन गर्नु उपयुक्त हुने समितिले जनाएको छ ।








