
अमर काफ्ले/सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ८ कि सैरा खातुन यतिवेला सेफ हाउसमा छिन् । शरीरभरी निलडाम र पिल्सिएको घाउसहित जिल्ला अस्पताल इनरुवामा रहेको लैगिंक तथा एकद्धार संकट व्यवस्थापन केन्द्रमा उपचाररत खातुनलाई यतिवेला महिला तथा बालबालिका कार्यालय मातहतको जिल्ला सेवा केन्द्र पुरयाइएको छ ।
इनरुवा अस्पतालको आकस्मिक कक्षमा पुरयाईदा देखि खातुनको उपचारमा जुटेका डा.बिशाल सुवेदी सहितको टिम ओसिएमसीमा समेत उनको उपचारमा संलग्न हुँदै आएको थियो । अस्पतालबाट सेवा केन्द्रमा विरामीलाई सारिएपनि त्यसको पछाडी राजनीति हावी भएको आशंका गरिएको छ ।
घटना मिडियाबाजी भएपछि दलगत र व्यक्तिगत दवाबका कारण खातुनलाई इनरुवा अस्पतालको ओसिएमसी कक्षबाट अन्यत्र सार्नु परेको बुझिएको छ । अस्पताल स्रोतका अनुसार राजनैतिक दबाब सहित सुरक्षा र अन्य कारण इनरुवा अस्पतालमा उपचाररत खातुनलाई जिल्ला सेवा केन्द्र पठाउनु परेको हो । खातुनलाई रातारात ओसिएमसीबाट सेवा केन्द्र पुर्याइएको थियो ।
घटनाका सम्वन्धमा महिला तथा बालबालिका कार्यालय सुनसरीकी महिला बिकास नीरिक्षक शुशिला कार्की जघन्य हिंसा भएको बताउँछिन् । मरणासन्न हुनेगरी कुटपिटको सो घटनालाई न्यायिक कटघरामा उभ्याउन समेत हम्मे हम्मे परेको छ । प्रहरीले मुद्धा लिन नमानेकाले अदालती प्रकृयामा जाने तयारी भएपनि घटनाका सम्वन्धमा बोल्ने र साथ, सहयोग जुटाउन कठिन भैरहेको कार्कीको भनाई छ । कार्कीले घटना राजनीतिकरण भएको बताइन् । पीडितको बयानका आधारमा कार्वाहीकालागि प्रकृया अघि बढाउने तयारी भैरहेको उनले जानकारी दिइन् ।
इनरुवा अस्पतालमा उपचारका क्रममा स्वयं खातुनले आफ्नो ३ महिनाजतिको गर्भ रहेको बताएकी थिइन् । महिला अधिकारकर्मी तथा महिला तथा बालबालिका कार्यालयले सोही विषयलाई उठान गरी कानुनी प्रकृयालाई मजबुत बनाएर अघि लैजाने बताइरहँदा ओसिएमसी इनरुवाले भने खातुन गर्भवति नरहेको बताएको छ । ओसिएमसी फोकल पर्सन मिना भण्डारीले खातुनको गर्भ नरहेको बताइन् । उनले रिपोर्टमा गर्भ रहेको नदेखिएको बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेलकी बिनु बस्नेत खातुन माथि भएको कुटपिटको घटना कहालीलाग्दो बताउँछिन् । आफुले सो घटना उपचाररत अवस्थादेखिनै नियाल्दै आएको बताउने तिम्सिनाले निर्ममतापूर्वक खातुनमाथि कुटपिट भएको बताइन् । घटना इलाका प्रहरी कार्यालय दुहवी मातहत भएको हुनाले प्रहरी नीरिक्षक शैलेस न्यौपानेसँग बुझ्दा उनले घटनाबारे आफुकहाँ कुनै उजुरी नपरेको बताए ।।
महिलामाथि कुटपिट भएको भनि उजुरी नपरेकाले आफुले कुटपिट भएको भन्न नसक्ने उनले बताए । पीडित महिलाका घर र माइती पक्ष आफुकहाँ आएको बताएका नीरिक्षक न्यौपानेले आइतवार राती ९ बजेतिर दुई पक्षवीच मिलापत्र गरी पठाएको जानकारी दिए । उनले ५ महिनाजति अघी देवर भाउजु भागेको भनि सामान्य निवेदन आफुकहाँ परेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयमा घटनाका सन्दर्भमा खातुनमाथि कुटपिटनै नभएको र आफुकहाँ कुनै जाहेरीनै नआएको भनि इप्रका दुहवीले जाहेर गरेको भन्ने बुझिएको छ । नीरिक्षक न्यौपानेले त्यसो बताइरहँदा पीडित महिलाका आफन्तहरुले भने आफुहरुलाई प्रहरीले जबरजस्ती जिम्मा लगाइएको बताएका छन् । शरीरभरी चोटपटक भएको अवस्थामा कानुनी कार्वाही अघि बढाइनुपर्नेमा दुहवी प्रहरीले हप्कीदप्की गरेपश्चात इनरुवा अस्पतालमा लगेर उपचार गरिएको उनिहको भनाई छ ।
कुटपिटको घटनामा दुहवी ९का नेपाली काँग्रेस तर्फका नवनिर्वाचित वडाध्यक्ष मेहदी हुसेन समेत मुछिएपछि घटना राजनीतिकरण हुँदै गएको पीडित पक्ष्यको भनाई छ । स्वयं घाइते महिलाले समेत आफुमाथि मेहदी हुसेन, पूर्व श्रीमान् साहबुद्दीन मियाँ सहितकाले कुटपिट गरेको आरोप लगाएकी छिन् ।
हातमा इटा बोकाएर भाटाले आफुमाथि वडाध्यक्ष मेहदी हुसेन सहितका गाउँलेले सामूहिक रुपमा कुटपिट गरेको पीडित महिलाले बताएपनि प्रहरीले कसले कुटपिट गरेको भन्ने यकिन हुन नसकेको बताएको छ । दुहवी प्रहरीले कुटपिटका बारेमा जानकारी नभएको सोझै बताइरहँदा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसी प्रविण धितालभने मरणाशन्न हुनेगरी महिलामाथि कुटपिट भएको बताए । कानुनी प्रकृया अघि बढ्ने क्रममा रहेको बताएका धितालले घटनाबारे विस्तृत रुपमा सुक्ष्म अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुहवीलाई निर्देशन समेत दिएको बताए ।
घटना यस्तो छ …..
विवाह पश्चात श्रीमान् विदेशमा रहँदा दुहवी नगरपालिका ८ सोनापुर कि २६ वर्षिया सैरा खातुनले देवर सुहान मियासँग भागेर विवाह गरिन् । भाईसँगको सम्वन्ध थाहा पाएपश्चात श्रीमान् साहबुद्दीन मियाँले सैरालाई तलाक दिएका थिए । त्यसपश्चात देवर सुहानसँग भागेर सैराले स्वेच्छाले कानुनी विवाह गरेकी थिइन् । सुहान र सैरालाई परिवारले फेलापारी घरमा ल्याएर कुटपिट गरे । पीडितका आफन्तका अनुसार शुक्रवार राती दुवैलाई यातना दिइएको थियो ।
तलाकपछि पनि विवाह गरेको विषयलाई लिएर गाउँमा मुस्लिम पञ्चायती डाकियो । सो क्रममा इटा बोकाएर भाटा र लातीले सैरामाथि कुटपिट भएको थियो । वेहोस पश्चात सामान्य उपचार गरी परिवारले प्रहरीमा माइती पक्ष झिकाएर सैरालाई जिम्मा लगाएको थियो । दुहवी प्रहरीले समेत कुटपिटको विषय आफुकहाँ जानकारीमा नआएको बताइरहँदा पञ्चायतीमा भएको भनिएको कुटपिटका बारेमा कोहीकसैले बताउन नचाहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हिंसामा परेकी सैरा जिल्ला सेवा केन्द्रको रेखदेखमा छिन् । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको महिला तथा बालबालिका कार्यालय सुनसरीले जनाएको छ ।









