अमर काफ्ले इनरुवा सुनसरी /अहिले सम्म सुनसरीमा बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षा तथा विभिन्न खोलानालामा आएको बाढीले बगाएर उनिहरुको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीमा बाढी पश्चात केहिबेर अघि सम्ममा १४ जनाको शव फेला परेको सुनसरी प्रहरीले पुष्टि गरेको हो । आज मध्यान्ह मात्रै साविकको नरसिंह १ हालको भोक्राहा गाउँपालिकामा रहेको बाबा पेपर प्रालिमा पानीमा तैरिएको अवस्थामा २ पुरुष र एक महिलाको शव फेला परेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिनुभयो ।
सो क्षेत्रमा थप शव रहेको आशंकामा खोजी जारी रहेको धितालले बताउनुभयो । बाढी पश्चात सुनसरीमा १६ वटा लाश भेटिएका थिए । जसमा बबिया ९ मा जमेको पानीमा नुहाउने क्रममा ९ वर्षे बालक कृष्ण खत्वेको ज्यान गएको थियो भने भोक्राहा ८ मा बाढीका कारण बगाएर ज्यान गएको भनिएकी ढोडियादवी मण्डलको लाश फेला नपरेको भन्दै प्रहरीले वेपत्ता सूचिमा राखेको छ । ढोडियाका आफन्तका अनुसार उनको शव खोलामै बगाइएको थियो । प्रहरीका अनुसार सुनसरीमा अहिले सम्म ७ जना वेपत्ता भएका छन् । बाढीले भत्केका भग्नावषेश तथा खोला किनारमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।








