
७ भाद्र, इनरुवा। जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नव निर्वाचित प्रमुख , उपप्रमुख सहितका निर्वाचित ९ सदस्यीय निर्वाचित पदाधिकारीहरु लाई मूख्य निर्वाचन अधिकृत गोपाल प्रसाद पराजुलीले प्रमाण पत्र वितरण गर्नुकासाथै सपथ ग्रहण गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका निर्वाचित प्रमुख, उपप्रमुख सहित दलीय प्रतिनीधि लगायतको उपस्थितीमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
सपथ ग्रहण पश्चात बोल्दै जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीले तोकिएको जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक सम्पादन गर्ने विश्वास दिलाउनुभयो । जिसस पदाधिकारीहरुले आजैबाट पदभार समेत सम्हालेका छन् ।
सुनसरी जिससको निर्वाचित सबै ९ सदस्य समिति निर्विरोध चयन भएका थिए । एमालेले उमेद्वारी नदिएपछि काँग्रेस लोकतान्त्रिक गठबन्धनको संयुक्त प्यानल बिजयी भएको थियो । जिसस सुनसरीको प्रमुख पदमा नेपाली काँग्रेसका भण्डारी र उपप्रमुखमा फोरम लोकतान्त्रिककी कुष्णकुमारी विश्वकर्मा निर्वाचित हुनुभएको छ ।









