
मंसिर १३ इनरुवा/सुनसरीको इनरुवा १० बलाहाबाट आज दिउँसो ७० हजार नगद लुटिएको छ ।
इनरुवा दुहवी सडक खण्ड अन्र्तगत देवेन्द्र चौक नजिक फरवार्ड कम्यूनिटि वित्तिय संस्था इनरुवा शाखामा कार्यरत सविता चौधरीको साथमा रहेको नगद ७० हजार सहित मोवाइल लुटिएको हो ।औरावनी पुगेर किस्ता वापतको रकम संकलन गरी इनरुवा शाखा तर्फ साइकलमा फर्कदै गर्दा मोटरसाइकलमा आएको अपरिचित समूहले आफुमाथि कुटपिट गरी रकम लुटेको चौधरीले बताइन् ।मोटरसाइकलनमा मास्क लगाएर आएका दुई जनाले साइकल रोकी ब्याग खोस्ने क्रममा आफुसँग घम्साघम्सी भएको र सो क्रममा पेस्तोल निकालेर धम्काउँदै कुटपिट गरेको औरावनी २ घर भएकी २२ वर्षिया चौधरीले बताइन् ।टाउको र हातमा चोट लागेपछि उनलाई इनरुवा अस्पतालमा उपचार गरिएको छ ।
उता प्रहरीले घटनास्थलबाट एक थान पेस्तोलमा लाग्ने गोली बरामद गरेको छ ।लुटपाट पछि सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरी लुटेराहरुको खोजी तिव्र पारिएको प्रहरी नीरिक्षक धनप्रसाद सिवाकोटीले बताउनुभयो ।









